मुगुमा मतपेटिका संकलन हुनै बाँकी

काठमाडौं । अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगुमा मतपेटिका संकलन हुनै बाँकी छ। मुगुका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार दुईवटा केन्द्रको मतपेटिका सदरमुकाम लगिँदैछ।

‘मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रको मतपेटिका बाटोमा बोकेर ल्याउँदैछन्। ८० किलोमिटर दुरी छ, हिँडेर मतपेटिका बोकेर ल्याउने हो। उकालो ओरालो छ,उनले भने।

मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी छ । दिउँसो २ बजेपछि सुरु हुन्छ कि भन्ने अपेक्षा रहेको उनले जानकारी दिए।

मुगुमा एउटै निर्वाचन क्षेत्र छ। एमालेबाट पूर्णबहादुर रोकाया, कांग्रेसबाट खड्ग शाही, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, रास्वपाबाट भुवन टमाटा, राप्रपाबाट बलबहादुर मल्ल उम्मेदवार रहेका छन्। प्रलोपाबाट ऐटनकुमार मल्ल र नेकपा माओवादीबाट रंगवीर परियार उम्मेदवार रहेका छन्।