नेतृत्व,नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय गर्छौं: विष्णुप्रसाद पौडेल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताएका छन् ।
रुपन्देही-२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पौडेलले यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरूको व्यक्तिगत कारण नभएको बताएका हुन् ।
पौडेल रास्वपाका सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका छन्। निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ ।
बालेन शाहको प्रवेशपछि रास्वपाको पक्षमा आएको देशव्यापी लहरमा मतदाताले अन्य दलका उम्मेदवारको क्षमता, योगदान केही नहेरी चुनाव चिन्हलाई मात्रै हेरेर मतदान गर्दा अरु सबै दलका लागि प्रतिकूल नतिजा आएको उनले बताए।
पौडेलले देशभरको निर्वाचनको परिणाम आएपछि पार्टीले गहिरो गरी आत्मसमीक्षा गर्ने बताए । उनले भने, ‘मतदाताको निर्णयलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई सफल कार्यकालको शुभकामना दिन्छु । अब हामी राष्ट्र र जनताको भावना अनुसार पार्टीको नेतृत्व, नीति र कार्य सम्पादनका तरिकाबारे छिटै उपयुक्त निर्णय गर्नेछौँ।
पौडेलले निर्वाचनमा पार्टीले ब्यहोरेको हारमा आफूसहित शीर्ष पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । पार्टीको नराम्रो पराजयपछि देशभरबाट नेता कार्यकर्ता, बुद्धिजिवी र जिम्मेवार मिडियाले दिएको सुझावलाई आत्मसाथ गरेर पार्टी अघि बढ्नुको विकल्प नभएको पौडेलको भनाई थियो।
