रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुन विजयी
रोल्पा । रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा वर्षमान पुन विजयी हुनुभएको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता पुनले अर्थशास्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका डा.सुदनकुमार वलीलाई १५ हजार ४सय ५२ मतले पराजित गर्दै विजयी हुनुभएको हो। उहाँ रोल्पाबाट लगातार तेस्रो पटक जित्नु भएको हो।
पुनले २७ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा.वलीले १२ हजार ८ मत प्राप्त गर्नुभएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापाले १० हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ, भने नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ।
रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन पुनको संसदीय यात्रामा यो चौथो जित हो। रोल्पा नगरपालिका-७ जंकोट माडिचौरका पुन पहिलो पटक २०६४ सालको संविधान सभा निर्वाचनमा ललितपुर–१ बाट विजयी हुनुभएको थियो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मोरङ-९ बाट पराजित हुनुभएका उहाँ २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यमा रोल्पाबाट निर्वाचित हुनुभएको थियो।
तत्कालीन नेकपा (माओवादी) हालको नेपाली कम्युनिष्ट पार्टीमा छोटो समयमा धेरै अवसर पाउने नेताका रूपमा चिनिनुहुन्छ। उहाँ नेकपा संयोजक पुष्पकमल दाहालको विश्वासपात्र नेताका रूपमा समेत परिचित हुनुहुन्छ। २०६७ सालमा झलनाथ खलान नेतृत्वको मन्त्रिपरिषद्मा शान्ति तथा पुनर्निर्माण मन्त्री हुनुभएका उहाँ अर्थसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सहमालि सक्नुभएको छ।
कुल खसेको ६८ हजार ९ सय १७ मत खसेकोमा ३ हजार १ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिनुभएको छ।
