धनुषा १ को निर्वाचन विवादसम्बन्धी रिटमा सुनुवाइ हुँदै

काठमाडौं। धनुषा १ मा आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ।

कालोसूचीमा परेको हुँदा योग्यता नपुग्ने भन्दै आयोगले फागुन १८ गते साहको उम्मेदवारी रद्द गरेको थियो । त्यसविरुद्ध दायर रिटमा न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रारम्भिक सुनुवाइ गर्न लागेको हुन्।

उम्मेदवार साह सर्वोच्च अदालत गएको थाहा पाएपछि आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक गरेको छैन । साहले २० हजारभन्दा धेरै मत पाएका बताइएको छ । उनी अग्र स्थानमा छन्।