बालेनको चुनावी खर्च १४ लाख १७ हजार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन्।
उनले दुई वटा सवारी साधन भाडा १५ दिनको दरले २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। यो खर्च इन्धनसहितको रहेको विवरणमा उल्लेख छ। पाँच पटकको हवाई भाडामा ३५ हजार र मतदाता प्रशिक्षण कार्यक्रम खाजा खर्च २८ हजार ९७० खर्च भएको विवरणमा उल्लेख छ।
यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ र स्टेसनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण छ।
