पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान मात्रै सुरक्षित, ४ हस्ती बढारिए
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा होमिएका ५ पूर्वअर्थमन्त्रीमध्ये एक मात्र विजयी भएका छन्। पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की, डा.प्रकाशशरण महत र वर्षमान पुन चुनावी मैदानमा उत्रिएका थिए। तर,पुन मात्रै निर्वाचित भएका हुन्। दुई पटक अर्थमन्त्री भइसकेका पुनले रोल्पाबाट चुनाव जितेका हुन्।
नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुन २७ हजार ४६० मतसहित विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका सुदनकुमार वलीले १२ हजार ८ मत ल्याएका थिए ।
पाँच पटक अर्थमन्त्री बनेका नेकपा एमाललेका विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट पराजित भएका हुन् । रास्वपाका सुलभ खरेलले ५६ हजार ५५० मत पाउँदा पौडेल १२ हजार ८६१ मा रोकिए ।
दुई पटक अर्थमन्त्री भइसकेका जनार्दन शर्मा रुकुम पश्चिमबाट पराजित हुन पुगे । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका शर्मा तेस्रो स्थानमा सिमित हुन पुगे। नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६०९ ल्याँदा जनार्दन १४ हजार ३४६ मतमा रोकिए ।
एक÷एक पटक अर्थमन्त्री बनेका नेपाली काँग्रेसका प्रकाशशरण महत र ज्ञानेन्द्र बहादुर कार्की पनि पराजित हुन पुगे । प्रकाशशरण महत रास्वपाका विक्रम तिमिल्सिनासँग पराजित भए। नुवाकोट–१ मा तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी हुँदा महत १८ हजार ५९७ मतमा रोकिए ।
ज्ञानेन्द्र बहादुर कार्की रास्वपाका दीपक कुमार साहसँग पराजित भए । सुनसरी–४ मा साहले ४२ हजार ७७१ मत पाउँदा कार्की १६ हजार ५८७ मतमा रोकिए।
