स्टन्ड र प्रतिशोधको राजनीति गर्न खोजियो,कानुनी लडाइँको सामना गर्न तयार छु: पूर्वगृहमन्त्री लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो नाम जोडेर फैलाइएका विभिन्न समाचार तथा अफवाहप्रति कडा आपत्ति जनाएका छन्। उनले तथ्यहीन प्रचारमार्फत आफूविरुद्ध “स्टन्ड र प्रतिशोधको राजनीति” गर्न खोजिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गृह जिल्ला कञ्चनपुरमा मतदान गरेर काठमाडौं फर्किएका लेखक सिंगापुर भागेको भन्ने समाचारहरू सार्वजनिक भएपछि उनले त्यसको खण्डन गरेका हुन्। सामाजिक सञ्जाल र केही मिडियामार्फत फैलाइएको उक्त खबर पूर्णतः निराधार रहेको उनले बताएका छन्।

लेखकले विशेषगरी ‘जेनजी आन्दोलन’पछि गठन गरिएको कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै आफूलाई लक्षित गर्दै विभिन्न आरोपहरू उछालिनु योजनाबद्ध राजनीतिक अभियान भएको दाबी गरे।

उनले भने,आयोगको प्रतिवेदन सरकारले अध्ययन गर्ने भनिएको छ। त्यो प्रतिवेदन न त सार्वजनिक भएको छ, न त आधिकारिक रूपमा कसैलाई उपलब्ध गराइएको छ। तर सामाजिक सञ्जालदेखि मिडियासम्म फौजदारी कारबाहीका लागि सिफारिस भएको भन्दै प्रचार गरिनु प्रतिशोधपूर्ण राजनीति हो।

लेखकका अनुसार प्रतिवेदन सार्वजनिक नहुँदै विभिन्न व्याख्या गर्दै व्यक्तिगत रूपमा आरोप लगाउनु राजनीतिक स्टन्डबाजी मात्र भएको उनको भनाइ छ। उनले यस्तो गतिविधिले लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कृतिलाई कमजोर बनाउने चेतावनी पनि दिएका छन्।

पूर्वगृहमन्त्री लेखकले आफू कुनै पनि कानुनी वा राजनीतिक लडाइँबाट पछि नहट्ने स्पष्ट पारे। “यदि कुनै आरोप छन् भने कानुनी प्रक्रियाबाट छानबिन होस्, म त्यसको सामना गर्न तयार छु, उनले भने, “तर तथ्यहीन प्रचार र चरित्रहत्या स्वीकार्य हुँदैन।

उनले प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक हुने समयसँगै कार्की आयोगको प्रतिवेदन बुझाइनुमा पनि शंका व्यक्त गरेका छन्। चुनावी परिणामसँगै प्रतिवेदन पेश गरिनुले राजनीतिक षड्यन्त्र र प्रतिशोधको संकेत दिएको उनको धारणा छ।

लेखकले अन्त्यमा सत्यतथ्य बाहिर आएपछि सबै भ्रम चिरिने विश्वास व्यक्त गर्दै गलत प्रचारमा नलाग्न सबैलाइ आग्रह गरेका छन्।