माटोको ढिस्को खस्दा महिलाको मृत्यु,तीन जना घाइते
काठमाडौं।रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्।
रुन्टीगढी गाउँपालिका-७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
गहिरो र सुरुङजस्तो खाल्डोमा माटो खन्दैगर्दा ढिस्को खस्दा निर्मला पुरिएकी थिइन्। मृतकको शव पोस्टमार्टमका लागि रेउघा अस्पताल लगिएको रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीले जनाकारी दिए।
यस्तै २८ वर्षीय एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। उनीहरूको निधार, ढाड र कम्मरमा चोट छ। घाइते तीनैजनाको होलेरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोतीखन्ने डाँडामा आज दिउँसो ७ जना माटो खन्न गएका थिए।
