सिटिजन्स बैंकमा नक्कली ऋणी देखाएर ५ करोड घोटाला

काठमाडौं। सिटिजन्स बैंकको विराटनगरमा शाखामा नक्कली ऋणी देखाएर करिब ५ करोड हिनामिना भएको छ। विराटनगर ३ राजवंशी चोकमा रहेको कञ्चनबारी शाखामा नक्कली ऋणी देखाएर ४ करोड ९१ लाख हिनामिना भएको हो।

आन्तरिक छानबिनका क्रममा हिनामिना भएको देखिएपछि बैंकले नै कर्मचारीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ। सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार बैंकले केही कर्मचारीमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिएको बताए।

उनका अनुसार सरप्राइज अडिट गर्दा ऋण लगानी शंकास्पद देखिएपछि आन्तरिक छानबिन भएको थियो। छानबिनका क्रममा अधिकारको दुरुपयोग गरेको देखिएको उनले बताए। सरप्राइज अडिट गर्दा फेक लोन सिर्जना गरेको देखियो,त्यो किस्ता रेगुलर हुन छाडेपछि के रहेछ भन्ने हिसाबले हेर्दा थाहा भयो,उनले भने,फेस्टिबलको समयमा लोनको प्रक्रिया तयार गरेको देखिन्छ,इन्टरनल इन्भेष्टिगेसनको रिपोर्टसहित प्रहरीमा निवेदन दिएका छौं ।

उनका अनुसार शाखा कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाईमा नक्कली ऋणी खडा गरेको देखिन्छ। तर, बैंक स्रोतले भने यो प्रकरणमा अन्य कर्मचारीको पनि मिलेमतो रहेको दाबी गरेको छ।

बैंकले नक्कली ऋणी देखाएर लगिएको रकम बराबरको धितो रोजीको परिवारबाट संकलन गरिसकेको दाबी गरेको छ। स्रोतका अनुसार आन्तरिक रूपमा विषय मिलाउने भन्दै बैंकले रोजीको परिवारबाट ७ करोड बराबरको जग्गा धितो राखेर मात्रै बैंक प्रशासन प्रहरी कार्यालय पुगेको थियो।

बैंकको आन्तरिक अनुसन्धानका क्रममा कँडेलले अरु कर्मचारीको युजर आईडी प्रयोग गरेको स्वीकारेको सूचना अधिकारी नारायणराज अधिकारीको भनाइ छ। ‘यो केसमा ४–५ जना सस्पेक्टिभ छन्, रोजी कँडेलले अरुको अथ्योरिटी मिसयुज गरेको भन्नु भएकै छ,उनले भने । तर, रोजी निकट स्रोतले भने अन्य कर्मचारीलाई जोगाउनका लागि बैंकले रोजीलाई मात्रै टार्गेट गरेको दाबी गरेको छ।

आफूलाई मात्रै बैंकले फसाएको भन्दै रोजीले पनि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी छन्। बैंक र कर्मचारी दुवैबाट उजुरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। रोजीको परिवारबाट ऋणको धितो बराबरको जग्गा रोक्का राखेपछि बैंकले फागुन २८ गते जाहेरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बैंकबाट जाहेरी परेपछि प्रहरीले छानबिन सुरु गरेको बताए।उजुरी आएपछि अनुसन्धान सुरु गरेका छौं,उनले भने,केही विषय बुझ्नु पर्ने भएकाले बैंकलाई पत्र लेखेका छौं,थप विषय अनुसन्धानपछि खुल्छ।

सिटिजन्स बैंकको कञ्चनबारी शाखबाट ऋण अपचलन भएको यो पहिलो पटक भने होइन। करिब पाँच वर्षअघि ऋण अपचलन भएको थियो। त्यसबेला तत्कालीन शाखा प्रमुख रुपेश राजवंशी कारबाहीमा परेका थिए। सो घटनामा भने बैंकले प्रहरीमा जाहेरी नदिएको स्रोतले दाबी गरेको छ। प्रहरी उपरीक्षक कटवालले पुरानो घटनाको विषयमा जानकारी नभएको बताए। र याे बिषयमा गम्भीर भएर अनुसन्धान गरिरहेका छाैं उनले भने।