तथ्य पुष्टि बिना समाचार: भ्यूजको मोहमा विश्वसनीयता संकटमा,प्रहरी संगठनमाथि ‘मिडिया ट्रायल’ किन ?

काठमाडौं। पत्रकारितालाई समाजको चौथो अंगका रूपमा व्याख्या गरिन्छ, जसको मूल दायित्व सत्य उजागर गर्नु, गलत कार्यमाथि प्रश्न उठाउनु र जनतालाई यथार्थ सूचना प्रदान गर्नु हो। तर पछिल्लो समय डिजिटल प्लेटफर्मको तीव्र विस्तारसँगै केही अनलाइन मिडियामा देखिएको प्रवृत्तिले पत्रकारिताको मर्ममाथि नै गम्भीर प्रश्न खडा गरेको छ।

भ्यूज र क्लिकको प्रतिस्पर्धाले सञ्चार माध्यमहरूबीच अस्वस्थ होड सिर्जना गरेको देखिन्छ। यही प्रतिस्पर्धाका कारण कतिपय अनलाइन मिडियाले तथ्य पुष्टि नगरी नै सनसनीपूर्ण शीर्षकसहित समाचार प्रकाशन गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले पाठकलाई आकर्षित त गर्छ, तर दीर्घकालीन रूपमा पत्रकारिताको विश्वसनीयता कमजोर बनाउने खतरा बढाएको छ।

हालै केही अनलाइन मिडियाले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध ‘नसिहतसहित कारबाही सिफारिस’ गरिएको भन्दै समाचार प्रकाशित गरेपछि त्यसको सत्यता र नियतबारे व्यापक बहस सुरु भएको छ। आधिकारिक प्रतिवेदन सार्वजनिक नहुँदै यस्ता संवेदनशील विषयलाई हतारमा सार्वजनिक गर्नुले सम्बन्धित व्यक्तिको छविमा असर पार्नुका साथै संस्थागत प्रक्रियामाथि पनि प्रश्न उठाउन सक्छ। प्रशासनिक प्रणालीभित्र हुने आन्तरिक सिफारिस वा प्रक्रिया स्वाभाविक हुन सक्छन्, तर त्यसलाई सन्दर्भविहीन रूपमा प्रस्तुत गर्दा वास्तविकता विकृत हुने जोखिम रहन्छ।

विशेषगरी सुरक्षा निकायजस्तो संवेदनशील संस्थासँग सम्बन्धित विषयमा तथ्यपरक र सन्तुलित रिपोर्टिङ अपरिहार्य मानिन्छ। नेपाल प्रहरी जस्तो संस्था प्रमाण, प्रक्रिया र आन्तरिक अनुशासनका आधारमा सञ्चालन हुने भएकाले बाह्य हल्ला वा अपुष्ट समाचारले त्यसको निर्णय प्रणालीलाई प्रभाव पार्ने होइन। तर यस्ता समाचारहरूले अनावश्यक भ्रम सिर्जना गर्ने र मनोवैज्ञानिक दबाब उत्पन्न गर्ने सम्भावना भने रहन्छ।

यसै सन्दर्भमा, प्रहरी वृत्तमा केही अनलाइन मिडियामा पूर्व सुरक्षा अधिकारीहरूको लगानी रहेको चर्चा पनि हुने गरेको स्रोतहरूको दाबी छ। व्यक्तिगत सम्बन्ध,पारिवारिक नातागोता वा स्वार्थका आधारमा सञ्चार माध्यम प्रयोग भएको आरोपसमेत बेलाबेलामा उठ्ने गरेका छन्। यस्ता गतिविधिले कुनै व्यक्तिलाई मात्र होइन, समग्र संगठनलाई नै कमजोर बनाउने जोखिम रहने सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।  

त्यस्तै प्रहरी संगठनभित्र कथित चलखेलसम्बन्धी चर्चा चुलिँदै जाँदा त्यसले समग्र संस्थागत संरचनामाथि प्रभाव पार्ने चिन्ता व्यक्त हुन थालेको छ। विशेषगरी एक पूर्व एआईजी र हाल बहालवाला एक एआईजीले संगठनभित्रको आन्तरिक संरचना र कार्यप्रणाली कमजोर बनाउने काम गर्नु राम्रो नभएको सरोकारवालाहरूले बताएका छन्। यस्ता गतिविधि यदि तथ्यमा आधारित भए, त्यसले संस्थागत अनुशासन, पारदर्शिता र निर्णय प्रक्रियालाई कमजोर बनाउन सक्ने देखिन्छ।

प्रहरी संगठन जस्तो संवेदनशील निकायमा व्यक्तिगत सम्बन्ध, नातागोता वा स्वार्थका आधारमा प्रभाव पार्ने प्रयास दीर्घकालीन रूपमा घातक हुन सक्ने जानकारहरू बताउँछन्। यसले संगठनभित्रको मनोबलमा असर पार्नुका साथै निष्पक्ष कार्यसम्पादनमा अवरोध सिर्जना गर्ने जोखिम रहनसक्छ।

नेपाल प्रहरी जस्तो संस्था विधि, प्रक्रिया र अनुशासनमा आधारित रहेर सञ्चालन हुने संगठन भएकाले बाह्य वा आन्तरिक कुनै पनि प्रकारको अनावश्यक प्रभावले यसको विश्वसनीयतामा प्रत्यक्ष असर पार्न सक्छ।

त्यसैले प्रहरी संगठनलाई पर्दा पछाडिबाट प्रभावित पार्ने प्रयास दीर्घकालीन रूपमा कसैका लागि पनि लाभदायक नहुने चेतावनी दिइएको छ। संस्थागत हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदा त्यसको असर सुरक्षा संयन्त्रको समग्र कार्यक्षमतामा पर्न सक्ने विश्लेषकहरू बताउँछन्। यस्ता प्रवृत्तिले मिडिया र संस्थाबीचको सम्बन्धलाई समेत अस्वस्थ बनाउने खतरा देखिन्छ।

पत्रकारिता विश्वासमा आधारित पेशा हो। यदि यही विश्वास भ्यूज र ट्रेन्डको नाममा कमजोर बनाइयो भने त्यसले केवल मिडिया क्षेत्रलाई मात्र होइन, समाजको सम्पूर्ण सूचना प्रणालीलाई असर पार्न सक्छ। जिम्मेवार पत्रकारिताले तथ्य, सन्तुलन र सत्यतामा आधारित हुनुपर्नेमा जोड दिइएको छ।

यसबीच सरोकारवालाहरूले मिडिया ट्रायलको आडमा संगठनभित्र चलखेल गर्ने प्रयास अन्ततः उल्टै महँगो पर्न सक्ने चेतावनी दिएका छन्। तथ्यहीन प्रचार र हतारमा गरिने विश्लेषणले दीर्घकालीन रूपमा विश्वसनीयता गुमाउने खतरा रहेको उनीहरूको भनाइ छ। नेपाली उखानझैँ, भुँइको टिप्न खोज्दा पोल्टाको खस्ने अवस्था आउन नदिन सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औँल्याइएको छ।