“एमालेसँगको सम्झौता कार्यान्वयन नहुँदा पराजित हुनु पर्यो”
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको पराजयको समीक्षा गर्दै गठबन्धन सरकारको कमजोर प्रदर्शनलाई प्रमुख कारण मानेको छ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा यस्तो उल्लेख गरेका छन् । प्रतिवेदनमा, नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएपछि जनतामा सरकारको काममा तीव्र गति र ठूलो परिवर्तनको अपेक्षा बढेको थियो । तर, सरकारको कार्यसम्पादन औसत रह्यो, जसले नागरिकमा नयाँ विश्वास र आशा जगाउन सकेन ।
शर्माले कांग्रेस-एमालेबीच भएको ७ बुँदे सम्झौताका धेरै बुँदा कार्यान्वयन नहुनु पनि पराजयको कारण रहेको बताएका छन् । संविधान संशोधनका लागि कार्यदल गठन नहुनु, सङ्घीयताको एक दशक बित्दा पनि प्रदेशहरूलाई अधिकार हस्तान्तरणमा ढिलाइ, विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी सम्बन्धी विधेयक टुङ्गोमा नपुग्नुजस्ता विषयले विभिन्न क्षेत्रमा असन्तुष्टि बढाएको उल्लेख छ ।
बजेट निर्माणमा भएको अर्घेल्याइँले संसद्मा चर्को असन्तुष्टि पोखिएको र यसले नागरिकमा नकारात्मक सन्देश दिएको पनि प्रतिवेदनमा छ । यसबाहेक, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गठबन्धनको सहमतिबिना गरिनुले गलत सन्देश दिएको र यसले युवा पुस्तामा विद्रोहको वातावरण तयार पारेको शर्माको निष्कर्ष छ ।
