खराब मौसमका कारण आन्तरिक उडान प्रभावित
काठमाडौं । खराब मौसमका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्। पश्चिम नेपालमा सक्रिय हावाहुरी र खराब मौसमको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्जका लागि उड्न लागेका उडानहरू रद्द गरिएको हो।
मौसम प्रतिकूल बनेसँगै काठमाडौं-नेपालगन्ज रुटमा सञ्चालन हुने बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका उडानहरू रद्द गरिएको छ।
उडानका लागि विमानमा चढिसकेका यात्रुहरूलाई पुनः ओरालेर फर्काइएको सुरक्षा कार्यालयले जानकारी दिएको छ। यसैबीच, भैरहवाका लागि यति एयरलाइन्सको उडान ढिलाइ भएको छ भने सुर्खेतका लागि निर्धारित उडान पनि रद्द गरिएको छ।
पश्चिमी वायु सक्रिय भएसँगै लुम्बिनी प्रदेशसहित पश्चिमका विभिन्न जिल्लामा दिउँसै हावाहुरीसहित वर्षा भइरहेको छ। चट्याङ र मेघगर्जनसमेत भइरहेकोले उडानहरू धमाधम रद्द भएको विमानस्थलले जनाएको छ। अहिले काठमाडौं लगायत देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ।
