चुनावी हारको कारण खोज्दै योगेशले मागे सुझाव

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा पार्टी पराजयको कारण खोजी गर्दै सुझाव माग गरेका छन्।सामाजिक सञ्जालमार्फत भट्टराईले निर्वाचनका कारण पार्टीलाई ठूलो धक्का लागेको उल्लेख गरेका छन्।

नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र बलियो संगठन भएको पार्टी किन यो हालतमा पुग्यो ? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्दछ।

समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्छ,भट्टराईले भनेका छन्,फेरि पनि एमालेको एकता,रूपान्तरण,पुर्नगठन र पुनर्जागरणका लागि नयाँ संकल्प सहित अघि बढ्नु पर्दछ । समीक्षा मार्फत जिम्मेवारी किटान गर्नुका साथै जवाफदेहिताको प्रश्न हल हुनेछ।

यसका लागि विभिन्न राय सुझाव पठाउन माग गर्दै उनले तीन वटा बुँदामा टिप्पणी पठाउन समेत आग्रह गरेका छन्। उनले आफ्नो इमेल र फोन नम्बर सार्वजनिक गर्दै सुझाव पठाउन पनि पार्टी पंक्तिलाई भनेका छन्।

यस्ता छन् योगेशले सोधेका प्रश्न–

१- निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन कुन कारण होलान ? र किन ? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेण्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारण ?

२-एमालेको रूपान्तरणका लागि कुन कुन पक्षमा के के सुधार गर्नु पर्लारु सुधारका प्रस्ताव सहित। अनि रूपान्तरणको विधि र प्रक्रिया बारेमा।

३-एमालेका सबल र कमजोर पक्ष अनि एमालेको सम्भावना।