सात दिनको मौसम पूर्वानुमानको तयारी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालमा मौसम पूर्वानुमान सेवालाई थप प्रभावकारी बनाउने तयारी गरेको छ । हाल तीन दिनसम्म मात्र नियमित रूपमा जारी गर्दै आएको पूर्वानुमानलाई निकट भविष्यमा सात दिनसम्म विस्तार गर्ने योजना अघि बढाइएको छ।
वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार यो कदम पूर्वानुमानलाई भरपर्दो, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले चालिएको हो। मौसमजन्य विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न गुणस्तरीय तथ्याङ्कमा आधारित लामो अवधिको पूर्वानुमान आवश्यक छ।
नेपालमा हरेक वर्ष भारी वर्षा, हुरीबतास, असिना र डढेलो जस्ता प्रकोपले ठूलो क्षति पुर्याउँदै आएका छन्। विभागले भूउपग्रह, राडार, रेडियोसोन्ड र जमिनस्थ केन्द्रहरूबाट तथ्याङ्क संकलन गर्दै ‘न्युमेरिकल वेदर मोडलिङ’ प्रणालीमार्फत तीन दिनको पूर्वानुमान सार्वजनिक गर्दै आएको छ।
यो जानकारी सडक, कृषि, खानी तथा भूगर्भ जस्ता निकायलाई पूर्वतयारीका लागि उपलब्ध गराइन्छ। पर्वतारोहण, हवाई उड्डयन, कृषि र सहरी क्षेत्रका लागि विशेष सेवा सञ्चालनमा छन्। हवाई मौसम सेवा डिजिटाइज भएको छ भने २१ स्थानीय तहमा प्रभावमा आधारित पूर्वानुमान सुरु गरिएको छ।सन् २०१० पछि प्रविधिमा उल्लेख्य सुधार आएको छ।
विभागले सात दिने पूर्वानुमान प्रणाली, मोबाइल एप र ‘डिसिजन सपोर्ट सिस्टम’ विकास गर्ने तयारी गरिरहेको छ । यसबाहेक दैनिक, मासिक, मौसमी प्रतिवेदन, अतिवृष्टि–तापक्रम निगरानी, खडेरी अनुगमन र जलवायु परिवर्तन जानकारी नियमित उपलब्ध गराउँदै आएको छ ।
कृषिका लागि साप्ताहिक वर्षा, तापक्रम र आर्द्रताको विश्लेषण पनि सार्वजनिक हुन्छ।वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट रामविकेश रायले जलविज्ञान क्षेत्रमा प्रगति भए पनि प्रविधि, बजेट अभाव र कठिन भूगोल प्रमुख चुनौती रहेको बताए । देशभर २३० जलस्तर मापन केन्द्रमध्ये २०६ स्वचालित छन्।
नारायणी बेसिनमा बाढी पूर्वानुमानको शुद्धता ९० प्रतिशत पुगेको छ। छोरोल्पा र इम्जा हिमतालमा अर्ली वार्निङ प्रणाली जडान भइसकेको छ भने थप चार हिमतालमा विस्तारको योजना छ। सूचना प्रवाह बुलेटिन, सामाजिक सञ्जाल, एसएमएस, रेडियो, टेलिभिजन र टोल फ्री नम्बर ११५५ मार्फत हुन्छ।
जलवायु परिवर्तनले अनिश्चितता बढाए पनि आधुनिक उपकरण र डिजिटल प्रणालीमार्फत सेवा विस्तार गर्दै विभागले विपद् क्षति न्यूनीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गरेको छ।
