कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थी आन्दोलित
काठमाडौं। ‘जेन–जी’ आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सरकारलाई दबाब दिएका छन्।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिचन्द्र बहुमुखी क्याम्पसको आयोजनामा मंगलबार क्याम्पस प्राङ्गणमा विरोध तथा खबरदारी कार्यक्रम गरिएको हो।
‘जेन–जी’ आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार भन्ने मुख्य नाराका साथ विद्यार्थीले प्रदर्शन गरेका हुन् । आन्दोलनका क्रममा भएका घटनाहरू र त्यसको छानबिनका लागि गठित कार्की आयोगले तयार पारेको प्रतिवेदन सरकारले गुपचुप राखेको भन्दै विद्यार्थी आक्रोशित छन् ।
विद्यार्थीले यसलाई सूचनाको हक र लोकतान्त्रिक मूल्य मान्यताको विरुद्ध भएको बताएका छन् । प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलनका कार्यक्रमहरू निरन्तर जारी रहने पनि बताइएको छ।
यसअघि पनि विभिन्न विद्यार्थी संगठनहरूले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका थिए । तर सरकारले यस विषयमा कुनै ठोस कदम चालेको छैन।
