प्रधानमन्त्री बालेन,मन्त्रीहरूमा यी नामको बढी चर्चा ?
काठमाडौं । दुई दिनपछि मुलुकले नयाँ सरकार पाउने निश्चित छ । अहिलेसम्म प्रधानमन्त्रीमा बालेन्द्र साह (बालेन) बाहेक कसैको पनि मन्त्रीपद निश्चित भैसकेको छैन।
तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा प्रधानमन्त्री नियुक्ति गर्ने गरी सम्पूर्ण निकायमा पत्रचार गरेपछि सरकारमा को को सहभागी हुन्छन् भन्ने कौतुहलता बढेको पनि पाँच दिन भैसक्यो।
सांस्कृतिक रुपमा राम नवमीको दिन पारेर बालेनले प्रधानमन्त्रीको सपथ लिदा मन्त्रीहरूको नाम बारेमा भने अन्योल रहेको छ । मन्त्री छान्न काठमाडौंका तारे होटलमा शीर्ष नेताहरूको बैठक बसेको तस्वीर सार्वजनिक हुनुबाहेक औपचारिक रुपमा कोही कसैको पनि मन्त्री पद सुनिश्चित भएको छैन।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टीले संवैधानिक निकायहरूमा पार्टीका तर्फबाट जानकारी दिइसकेको र मन्त्रीहरूको बारेमा छलफल चलिरहेको छ।
सरकारमा बालेनका सारथिमा धेरैजसो रवि लामिछानेकै निकट व्यक्ति मन्त्री हुने संभावना रहेको छ। बालेनले रविलाई सभामुख दिएर आफूले अनुकुलका मन्त्री छान्ने अवसर र दबाब बढाइरहेको स्रोतले बताएको छ।
महामन्त्री बुर्लाकोटीका अनुसार त्यसअघि नै पार्टीले संसदीय दलको नेता टुंग्याइनेछ। मन्त्रीमण्डल कति सदस्यीय बनाउने भन्ने विषयमा बिहीबारदेखि आजसम्म पनि नेताहरूबीच छलफल चलिरहेको छ।
सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन र उपसभापतिद्वय डा। स्वर्णिम वाग्ले र डोलप्रसाद (डीपी) अर्यालबीच बढीमा १८ सदस्यीय मन्त्रीमण्डल बनाउने छलफल भएको छ।
चुनावअघि बजेट भाषण लेख्नलाई निर्देशन पाएका स्वर्णिम वाग्ले अर्थमन्त्री निश्चत भएको बताइन्छ। अर्याललाई गृहदिने विषयमा बालेन आफै इच्छुक देखिएका छैनन।
यद्यपि, रविले डीपीलाई अघि सारिरहेका छन्। रविको समूहले १० र बालेनले प्रधानमन्त्रीसहित ८ मन्त्रालय लिएर सरकार सञ्चालन गर्ने अनौपचारिक छलफल भैरहेको स्रोतले बताएको छ।
प्रधानमन्त्रीमा शाहले सपथ लिएकै दिन केही मन्त्रीले पनि सपथ लिने गरी तयारी भइरहेको बताइन्छ। १८ सदस्यीय बनाउने मन्त्रीमण्डलमा सभापति लामिछाने पक्षबाट १० र बालेनपक्षबाट ८ जनालाई मन्त्री बनाउने गरी छलफल गरिएको छ।
उपसभापति अर्याललाई गृहमन्त्री तथा वाग्लेलाई अर्थमन्त्री बनाउने कुरा रास्वपाभित्र चलेपनि मिडिया ट्रायल नगर्न भन्दै मन्त्रीबारे हल्ला कम गराउन थालिएको छ।
त्यस्तै, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र अमरेशकुमार सिंहले दाबी गरिरहँदा कानुनमन्त्रीमा सोविता गौतम, पर्यटनमन्त्रीमा धनन्जय रेग्मी, विराजभक्त श्रेष्ठ र सुम्निमा उदासको संभावनाबारे छलफल भैरहेको छ।
त्यसैगरी सुनिल लम्सालको पनि गृहमा चर्चा चल्दा सस्मित पोखरेललाई शिक्षामन्त्री बनाउने गरी छलफल भएको छ। त्यस्तै सञ्चारमा जगदीश खरेल र मनिष झाले इच्छा जनाएका छन् भने सुधन गुरुङले भौतिक पूर्वाधारमा दाबी गरेका छन्। तर उनलाई मन्त्री बनाउदा आउने जोखिमबारे पार्टीका शीर्ष नेताहरूबीच छलफल भैरहेको छ।
स्वास्थ्यमन्त्रीमा तोसिमा कार्की र लेखजंग थापाको चर्चा रहेको छ। रास्वपा प्रवेश गरेका बालेनले प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा ४० प्रतिशत कोटा लिएका थिए।
हाल रास्वपाका १२५ प्रत्यक्ष र ५७ समानुपातिक सांसद निर्वाचित भएका छन्। झण्डै दुईतिहाइको हाराहारीमा सिट संख्या लिएर सरकार बनाउन लागेको रास्वपा सरकारलाई उच्च प्राथमिकताका साथ हेरिएको छ।
बालेनले सपथ लिदा बाहिरबाट पनि मन्त्री बनाउनेगरी छलफल अघि बढाएका छन्। मन्त्रीको टुंगो भने १३ गते बिहान मात्रै लाग्ने बताइएको छ । शितल निवासमा प्रधानमन्त्री र मन्त्रीहरूको सपथका लागि तयारीसमेत भैरहेको छ।
