नवनिर्वाचित ६३ सांसदले नेपाली बाहेकको भाषामा शपथ लिने
काठमाडौं। नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधिसभा सदस्यहरूको संख्या ६३ पुगेको छ। संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेक मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन्।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन्।
संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरुलाई आग्रह गरेको छ।
