ओली र लेखकलाई तत्काल रिहा गर्न कांग्रेस कैलालीको माग

काठमाडौं। नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ ।

कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संविधान र प्रचलित कानुनविपरीत उनीहरूलाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन्।

विज्ञप्तिमा जेनजी आन्दोलनपछि भदौ २३ र २४ को घटना छानबिन गर्न गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढिरहेको अवस्थामा पनि प्रतिवेदन सार्वजनिक नगरी पक्राउ गरिएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ।

आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरी कुनै पनि कदम चाल्नु उपयुक्त नहुने धारणा व्यक्त गरेको छ। ‘प्रतिवेदन सार्वजनिक नभएसम्म त्यसले आधिकारिकता पाउँदैन र सिफारिस कार्यान्वयनको प्रक्रिया अघि बढ्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले सरकारको यो कदमलाई बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित भनेको छ। यस्ता खालका गतिविधिले देशमा द्वन्द्व बढाउने खतरा रहेको र विधिको शासनमाथि प्रश्न उठ्ने कांग्रेसको भनाइ छ।