लेखकलाई रिहा गर्न माग गर्दै दर्ता भयो बन्दी प्रत्यक्षीकरणको रिट
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ। गैरकानुनी पक्राउ गरी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो।
आजै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्। रिटमाथिको सुनुवाइ सोमबार हुने सर्वोच्चले जनाएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो।
उनीहरूलाई आज अदालत उपस्थित गराइएको थियो। लेखकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो भने अस्पतालमा रहेका ओलीलाई भर्चुअल रुपमा उपस्थित गराइएको थियो।
