प्राइभेट कलेज जस्तो सरकारी कलेज बनाउने निर्णय गरौँ, हातेमालो गरौँ : नेता शाही

काठमाडौं। सरकारी कलेजलाई प्राइभेट कलेज सरह सुविधा सम्पन्न र गुणस्तरीय बनाउने निर्णय गर्नुपर्ने भन्दै नेता अमृत शाहीले शिक्षामा सुधार गर्न साझा मुद्दामा सबैले हातेमालो गर्नु पर्ने बताएका छन्।  

काठमाडौंका अधिकांश निजी कलेजमा अध्ययन गरेका व्यक्तिवादी सोचले ग्रस्त क्याबिनेटले विद्यार्थी संगठन खारेज गर्ने कुरा उठाएको भन्दै उनले त्यसले मात्र शिक्षा क्षेत्रको समस्या समाधान नहुने बताए। उनका अनुसार विद्यार्थी संगठन हटाउने भन्दा शिक्षा प्रणाली सुधार, समान पहुँच र गुणस्तरीय शिक्षामा बहस आवश्यक छ।

उनले प्राइभेट क्याम्पस र सरकारी क्याम्पसबीचको शुल्क असमानता अन्त्य गर्न शुल्क बराबरीको विषयमा राष्ट्रिय बहस हुनुपर्ने बताए। सबै विद्यार्थीले समान रूपमा शिक्षा पाउने वातावरण बनाउनुपर्ने, शिक्षा प्रणाली अझ गतिशील र रोजगारमुखी बनाउनुपर्नेमा उनले जोड दिए।

शाहीले विद्यार्थीका लागि शैक्षिक ऋणको व्यवस्था गर्नुपर्ने, काठमाडौंमा घरबहाल कर व्यवस्थित गर्नुपर्ने र मदिरामा बढी कर लगाएर शिक्षा क्षेत्रमा लगानी बढाउन सकिने सुझाव पनि दिएका छन्। यी स्रोतबाट सरकारी कलेजको पूर्वाधार, प्रविधि, पुस्तकालय, प्रयोगशाला र शैक्षिक गुणस्तर सुधार गर्न सकिने उनको भनाइ छ।

उनले शिक्षा क्षेत्र सुधार कुनै एक दल, संगठन वा सरकारको मात्र विषय नभई राष्ट्रिय साझा विषय भएकाले सबै सरोकारवालालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्।

सरकारी कलेज बलियो बने मात्रै सबै विद्यार्थीले समान अवसर पाउँछन्, त्यसैले प्राइभेट कलेज जस्तो सरकारी कलेज निर्माण गर्ने निर्णय गरौँ, आउनुहोस् हातेमालो गरौँ,उनले भने।