मधेसमा शोघोषित पत्रकारको आतंक, प्रहरी अधिकारीलाई मुछ्दै असुली गर्दै

काठमाडौं। मधेस प्रदेशमा पछिल्लो समय शोघोषित पत्रकारको नाममा विभिन्न निकायलाई प्रभाव पार्ने, धम्क्याउने र असुली गर्ने गतिविधि बढ्दै गएको भन्दै प्रहरी तथा पत्रकार वृत्तमै चिन्ता व्यक्त हुन थालेको छ। विशेषगरी बारा जिल्ला घर बताउने जितेन्द्र साह नामका व्यक्तिमाथि प्रहरी अधिकारी, भन्सार कार्यालय तथा सञ्चार माध्यमको नाम प्रयोग गरी आर्थिक लाभ लिएको आरोप लाग्दै आएको छ।

स्रोतका अनुसार आफू पत्रकार भएको दाबी गर्दै साहले मधेस प्रदेशका आठ जिल्लाका प्रहरी प्रमुखदेखि प्रदेश प्रहरी कार्यालयसम्मको नाम जोडेर काठमाडौं उपत्यकाबाट सञ्चालन हुने केही सञ्चार माध्यममा समाचार प्रकाशित गराउने भन्दै दबाब दिने र त्यसको आडमा असुली गर्ने गरेको आरोप छ। मधेस प्रदेश प्रहरी कार्यालयभित्रै पनि उनले आफूलाई पत्रकार भन्दै विभिन्न जिल्लाका प्रहरी प्रमुखसँग सरुवा, जिम्मेवारी र अन्य प्रशासनिक विषयमा बार्गेनिङ गर्ने गरेको चर्चा चल्ने गरेको बताइन्छ।

जितेन्द्र साहको पारिवारिक पृष्ठभूमि पनि प्रहरी संगठनसँग जोडिएको बताइन्छ। उनका सहोदर दाइ नेपाल प्रहरीका हवल्दार रहेको र हाल पर्सा जिल्लामा कार्यरत रहेको स्रोतको दाबी छ। सोही सम्बन्धको प्रभाव देखाउँदै साहले प्रहरी अधिकारीहरूसँग पहुँच भएको भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउने गरेको आरोप लगाइएको छ।

यस्तै, पर्सा भन्सार कार्यालयमा समेत सेटिङ्ग मिलाएर आर्थिक लाभ लिने गरेको आरोप उनको निकट स्रोतहरूले नै बताउने गरेका छन्। स्रोतका अनुसार उनले भन्सारसम्बन्धी काम मिलाइदिने भन्दै दैनिक करिब ५० हजार रुपैयाँसम्म कमाउने धन्दा चलाएको दाबी गरिएको छ।  

प्रहरी स्रोतका अनुसार साहले काठमाडौं उपत्यकाबाट प्रकाशित हुने केही सञ्चार माध्यमलाई भ्रामक र अपुष्ट सूचना उपलब्ध गराएर समाचार प्रकाशित गराउने, त्यसपछि सम्बन्धित कार्यालय वा व्यक्तिसँग मिलापत्र गर्ने शैली अपनाउँदै आएको आरोप छ। यस प्रकारका गतिविधिबारे मधेस प्रदेश प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बुझिएको छ।

मधेस प्रदेशका धेरैजसो क्रियाशील पत्रकारहरूले भने जितेन्द्र साहलाई आफूहरूले पत्रकारको रूपमा नचिनेको बताएका छन्। उनीहरूले पत्रकारिताको नाममा हुने यस्ता गतिविधिले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता कमजोर बनाउने बताएका छन्।

यस विषयमा जितेन्द्र साहसँग प्रतिक्रिया लिँदा उनले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले आफू काठमाडौंबाट प्रकाशित हुने एक सञ्चार माध्यममा काम गर्ने दाबी गरे पनि उनले नाम लिएको उक्त सञ्चार माध्यममा उनले औपचारिक रूपमा काम गरेको प्रमाण नभएको स्रोतहरूको दाबी छ। स्रोतका अनुसार उनी फोटो खिच्न रुचि राख्ने व्यक्ति मात्र भएको र सञ्चार माध्यमका सञ्चालकसँग फोटो खिचेकै आधारमा आफूलाई पत्रकार बताउँदै हिँड्ने गरेको आरोप लगाइएको छ।

पत्रकारिताको नाममा दलाली, असुली र सेटिङ्ग जस्ता गतिविधि हुने हो भने त्यसले पत्रकारिता पेशाको गरिमा मात्र होइन, नेपाल प्रहरी जस्तो राज्यको महत्वपूर्ण संगठनको छविमा पनि गम्भीर असर पर्ने भन्दै सरोकारवालाहरूले यस्ता गतिविधि रोक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।