संसद्को पहिलो दिनः एमाले-रावपाको जुहारी र हर्कको सुझाव,गृहमन्त्रीको ‘धारेहात’,महावीरको ‘ठट्टा’
काठमाडौं । फागुन २१ को निर्वाचनपछि बिहीबार पहिलोपटक प्रतिनिधिसभा बैठक बस्यो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी भएपछि संसद बैठक सिंहदरबारभित्रको नवनिर्मित भवनमा सारियो ।
बैठकको सुरुवातमै नेकपा एमालेले आफ्ना अध्यक्षको गिरफ्तारीलाई लिएर विरोध जनाउँदा रास्वपाले त्यसको प्रतिवाद ग¥यो । यता, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई विभिन्न सुझाव दिए भने राप्रपाका ज्ञानेन्द्र शाहीको प्रदेश खारेजीको प्रस्ताव र रामबहादुर थापा ‘बादल’को विवादास्पद टिप्पणीले सदन ततायो।
बैठकको सुरुमै ‘जेन–जी’ आन्दोलनका क्रममा राज्यले दमन गरेको आरोपमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको विषयले प्रवेश पायो। बैठक सुरु भएलत्तै एमालेका सांसदहरूले उठेर विरोध जनाए ।
त्यसपछि प्रतिनिधिसभा बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिए । संसद्मा बोल्दै सांसद बरालले ओली र लेखकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको जिकिर गरे ।
एमालेको विरोधमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जवाफ फर्काए । उनले नेताको रिहाइभन्दा नागरिकको न्याय ठूलो भएको तर्क गरे ।
यता, नेपाली कम्युनिष्ट पार्टीका उपाध्यक्ष वर्षमान पुनले २०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले प्राप्त गरेको जनमत खेर गएको स्मरण गराउँदै रास्वपालाई इतिहासबाट पाठ सिक्न सुझाव दिए। निर्वाचनमा जित्नेले अहंकार र हार्नेले लघुताबोध गर्न आवश्यक नरहेको चर्चा गर्दै पुनले विचार र सिद्धान्तका आधारमा देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्न सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य जरुरी रहेको औँल्याए ।
संसद्को पहिलो बैठकमा धेरैको प्रतीक्षा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सम्बोधनमा थियो । साम्पाङले बैठक समयमै सुरु नभएको विषयलाई सुरुमै उठाउँदै संसदीय कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
संसद्मा बुँदागत रूपमा आफ्ना मागहरू प्रस्तुत गर्दै साम्पाङले एमसीसी खारेजी,जेन–जी’ आन्दोलनमा विद्यार्थीहरूलाई सडकमा उतार्ने र उनीहरूमाथि गोली चलाउनेहरूमाथि तत्काल अनुसन्धान गर्न माग गरे। साथै, उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र डोजर चलाएर सुकुम्बासीहरूलाई उठिबास लगाउने काम नगर्न सरकारलाई सुझाव दिए।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पु¥याउन आफ्नो दल तयार रहेको बताए । अनावश्यक प्रशासनिक संरचना सञ्चालनका लागि वार्षिक झन्डै १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै उनले ती संरचना खारेज गर्नुपर्नेमा जोड दिए ।
बैठकमा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले भने अन्य नेताहरूको तुलनामा निकै आक्रामक उत्रिए । उनले रास्वपाको विजयमा नेपाली सेनासहित विभिन्न ’दृश्य–अदृश्य’ शक्तिहरूको निर्णायक भूमिका रहेको टिप्पणी गरे। उनले ‘जेन–जी’ आन्दोलनमा सहभागीहरूलाई ‘खलनायक’को संज्ञा दिँदै रास्वपाको विजय चामत्कारिक देखिए पनि यसले केही गम्भीर र असाधारण प्रश्न उब्जाएको टिप्पणी गरे।
बादलले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी ढङ्गले पक्राउ गरिएकोमा कडा असन्तुष्टि समेत जनाए। बादलले सम्बोधन गरिरहँदा सत्तापक्षको आसनमा रहेका गृहमन्त्री सुधन गुरुङले उनीतिर धारेहात लगाउँदै अस्वाभाविक शैलीमा प्रतिवाद गरे।
यता, संसद् बैठक सुरु हुनुअघि केही रोचक दृश्यहरू पनि देखिए। यातायात तथा पूर्वाधार विज्ञका रूपमा परिचित रास्वपाका सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका थिए । त्यस्तै पछिल्लो समय तिक्तता रहेको प्रधानमन्त्री बालेन र हर्क साम्पाङको संसद बैठक सकिएपछि अंगालो हाल्दै निस्किएको दृश्यले पनि चर्चा पायो।
संसद्मा देखिएको अर्को रोचक दृश्य स्वतन्त्र सांसद महावीर पुनको हो। उनी संसदको रोस्टममा पुग्नेबित्तिकै आफू आउनै नपर्ने मान्छे आएको भन्दै सांसदहरूलाई हसाए । उनले आफू अन्तरिम सरकारको शिक्षामन्त्री हुँदा सुधारको काम गर्न ३ वटा अध्यादेश ल्याउन खोजे पनि नसकेको भन्दै नयाँ आउने सरकारले ल्याउनुपर्ने बताएका थिए। उनले त्यसो भनिरहँदा शिक्षामन्त्री सस्मित पोखरेलले उनका कुराहरू टिपिरहेका थिए । उनले सांसदहरूलाई शुभकामना दिँदै ‘रास्वपाका भाइबैनी’ भन्दै बधाई दिए।
संसद्को पहिलो बैठकले एकातिर नयाँ अनुहारहरूको ऊर्जा र वैकल्पिक राजनीतिको लहर देखायो भने अर्कोतिर पुरानै जुहारी र आक्रोशको पुरानै प्रवृत्तिलाई पनि निरन्तरता दियो । बालेन र हर्कको त्यो अप्रत्याशित ‘अङ्गालो’ले राजनीतिमा असम्भव केही छैन भन्ने सन्देश त दियो, तर सदनभित्र देखिएको सत्ता र प्रतिपक्षबीचको तीक्तताले आगामी दिन सहज नहुने संकेत गरेको छ।
संसदको निर्माणाधीन भवनको साँघुरो हलमा सुरु भएको यो नयाँ संसदीय यात्राले देशको राजनीतिक अन्योललाई निकास दिन्छ वा ’जेन–जी’ आन्दोलनले उठाएका प्रश्नहरू संसद्को रापमै हराउँछन् ? त्यो भने आगामी बैठकहरूले नै तय गर्नेछन्। तर, पहिलो दिनको दृश्य हेर्दा यति भन्न सकिन्छ– नयाँ संसद्मा जनआकांक्षाको भारी छ र चुनौतीका पहाडहरू उत्तिकै अल्ला छन्।
झन्डै दुई तिहाइ बहुमतसहित आएको रास्वपामाथि अब नाराभन्दा नतिजा दिनुपर्ने दबाब छ। नयाँ सरकार गठन सँगसँगै बजार तताएको बालेन सरकारको रफ्तार यही रुपमा अगाडि बढ्ला कि छुटाउलान् ? त्यो हेर्न भने केही दिन कुर्नै पर्नेछ।
