बादलको अभिव्यक्तिले एमालेमा तरंग, के भनेका थिए ?

काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा गरेको छ ।

एमाले उपाध्यक्ष समेत रहेका बादलले संसद बैठकमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको र फागुन २१ गते आम निर्वाचनमार्फत ‘नीलो क्रान्ति’ लाई वैधानिकता प्रदान गरिएको आरोप लगाएका थिए ।

बादलले व्यक्त गरेका उक्त धारणा ‘पार्टीको स्थापित नीति र मान्यताविपरीत’ भन्दै एमाले नेताहरूले नै आपत्ति जनाएका छन् । बादलको भनाइमा आपत्ति जनाउनेमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डे छन् ।
उपाध्यक्ष पौडेलले बादलको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आज बस्ने एमालेको केन्द्रीय सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल हुने बताएका छन्।

‘प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले को दल नेताको हैसियतले रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्। यस सम्बन्धमा आयोजना गरिएको केन्द्रीय सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,’ पौडेलले भनेका छन्।

नेता बादलले नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ लगायत संस्था तथा पात्रहरूको भूमिकाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व जित हासिल गरेको बताएका थिए ।

उपमहासचिव योगेश भट्टराईले पनि नेपाली सेना लगायत सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको भन्दै घुमाउरो हिसाबले दल नेता बादलको भनाइप्रति असहमति जनाएका छन्।

यी संस्थाप्रति एमालेको सम्मान र विश्वास रहिरहने भट्टराईको भनाइ छ। ‘जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त हो। प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता हो। जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानु जबजको मर्म हो,भट्टराईले भनेका छन्।

‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल नेकपा एमाले आज सरकारको विपक्षी दल हो तर राज्यपक्षीय दल हो । नेपाली सेना लगायतका सुरक्षा अंगहरू,न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन । त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ,उनले भनेका छन् ।

संसद वा सडक, सत्तापक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने उनले बताएका छन् । त्यस्तै नेता सुरेन्द्र पाण्डेले पनि बादलको विवादित अभिव्यक्तिप्रति लक्षित गर्दै दोष जति अरुलाई देखाउने राजनीति पुरानो भइसकेको टिप्पणी गरेका छन् ।

पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको उनको टिप्पणी छ।

बादलको नाम नलिई उनले फेसबुकमा लेखेका छन्,हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो– सबै दोष अरूलाई ! हामी पनि दोषी छौं– यो वातावरण सिर्जना गर्न, हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?

उनले ‘घेराबन्दी’मा प¥यौं भन्ने राष्ट्रवादी राजनीति निकै पुरानो भएको टिप्पणी गर्दै लेखेका छन्, ‘अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन् ।

उनले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगर्न आग्रह गरेका छन्। भदौ २३ र २४ गतेको घटना छानबिन हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।

बादलले के भनेका थिए  

नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ ले बिहीबार संसद बैठकमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको आरोप लगाएका थिए । उनले फागुन २१ गते आम निर्वाचनमार्फत ‘नीलो क्रान्ति’ लाई वैधानिकता प्रदान गरिएको टिप्पणी गरे ।

‘चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजीलाई म नेकपा एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु,’ उनले भने।

यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा कसको निर्णायक भूमिका रह्यो भन्ने स्पष्ट पार्न चाहेको भन्दै यसमा मुख्यतयाः नेपाली सेना, कर्मचारीतन्त्र ९ब्युरोक्रेसी०, सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको भूमिका निर्णायक रहेको उनले टिप्पणी गरे ।

‘यस जादुमय विजयका लागि बाह्य रूपमा कसले निर्णायक भूमिका खेल्यो भन्ने कुरा असंख्य तथ्यले स्पष्ट पारेका छन् । अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम र गोयबल्स शैली अपनाउनेहरूले राष्ट्रियता, लोकतन्त्र र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरे। देश जलाउने र राष्ट्रिय पहिचान मेटाउने पात्रहरूलाई महानायक बनाउने ती अदृश्य पात्रहरूले बाह्य रूपमा निर्णायक भूमिका खेलेका छन्,’ उनले भने ।

यो चामत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको उनको भनाइ थियो । कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार र सर्वोच्च अदालत जस्ता संरचनाहरू जलाइयो भन्दै उनले प्रश्न गरे। त्यस्तै, कुन उद्देश्यका लागि हतियारधारी समूहहरू २३–२४ गते तिलस्मी रूपमा प्रकट भए भन्ने प्रश्न पनि उनले गरेका थिए ।

‘कुन उद्देश्यका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीलाई गिरफ्तार गरियो र राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रपञ्च रचियोरु कुन उद्देश्यका लागि देशव्यापी रूपमा दमन चक्र र राज्य आतंक मच्चाइयो? कुन उद्देश्यका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकार खोसियो र मिडिया ट्रायल आतंकको सिर्जना गरियो?उनको प्रश्न थियो।

भविष्यले यी प्रश्नहरूको सही जबाफ दिने र एमाले यी प्रश्नहरू सम्पूर्ण तागतका साथ राज्यलाई सोध्ने पनि उनले बताए । यो सदनमा आवाज उठाइरहनेछौं । यस क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश प्राप्त नेपाली कांग्रेस, नेपाल श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र सांसदहरूलाई पनि म बधाई र शुभकामना दिन चाहन्छु,उनले भने, अन्तमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ र आफ्ना कमी–कमजोरीहरू सच्याउने अवसर दिएको छ। यो पराजय केवल अस्थायी हो र पराजित सेनाले सधैं पराजयलाई विजयमा बदल्न सक्छ ।

उनको यो अभिव्यक्तिले अहिले पार्टी पंतिभित्र र बाहिर चौतर्फी आलोचना भइरहेको छ भने एमाले नेताहरुले नै आपत्ति जनाएका हुन् ।