गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेशनः एकैदिन १७ जना पक्राउ
काठमाडौं। प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ। नयाँ जनादेशअनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो।
अभियान सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन्।
अपराध अनुसन्धान कार्यालका एसएसपी सन्तोष खड्काले शुक्रबार रातिमात्रै १३ जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिए। उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको एसएसपी खड्काको भनाई छ।
अपराध अनुसन्धान कार्यालयकाअनुसार यसक्रममा अशोक गिरी, सञ्जीव लामा, सुरेश गुरुङ, किमजोङ बोससमेत १३ जनालाई पक्राउ गरिएको छ।
यस्तै, परिसरले पनि ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। परिसरले श्याम लामा समूहका प्रविण गुरुङ, बाफल एरियामा गुण्डागर्दी गर्ने बिर्जु महर्जन,कलंकी क्षेत्रका सुनज कार्की र स्यूचाटार क्षेत्रका सरु हुमागाईंलाई पक्राउ गरेको हो।
प्रहरीले पछिल्लो समय बिचौलियाहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। विभिन्न सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी भएको गुनासो आएपछि प्रहरी सक्रिय भएको हो।
