राज्यको लापरवाहीको परिणामः बैंक,वित्तिय संस्थाको भागाभाग,बचतकर्ताको रुवाबासी
रुषा थापा
बैंक, वित्तिय संस्था, हाइड्रोपावर, बीमालगायत कम्पनीले एक सय रुपैयाँ प्रतिकित्तामा निष्काशन गरेको सेयर दलालीहरुले ३५ सयदेखि पाँच हजारसम्ममा किनबेच गरे । सेयरका खेलाडी विशेषगरी ५०–६० जना रहेको बताइन्छ । उनीहरुकै चलखेलमा मूल्य घटबढ हुँदै आएको छ । आफूले किन्दा स्वाट्टै मूल्य घटाउने, बेच्दा ह्वात्तै मूल्य बढाउने काम उनीहरुले गर्दै आएका थिए ।
सोझासाझा जनताले चाँहि केही भएपनि नाफा हुन्छ भन्ने आशामा सेयरमा लगानी गरे । तर, नराम्ररी डुबे । केही समयअघि ३२ सय पुगिसकेको सेयर २६ सयमा झरिसकेको छ । ३२ सय हालेर सेयर किनेकाहरु चुलुम्म भइसकेका छन् । सेयर किनबेचबापत राज्यलाई राजस्व तिर्नुपर्छ । तर, ३२ सयमा सेयर किनबेच हुँदा राज्यको ढुकुटीमा एक सय रुपैयाँको राजस्व जान्छ । किनकि सेयरको आधिकारिक मूल्य नै एक सय रुपैयाँ हो ।
दलालहरुले कृत्रिम रुपमा मूल्य बढाएका हुन् । यो अहिले पुष्टि हुँदैछ । सेयरमा लगानी गर्दा डुब्ने अधिक छन् र यो क्रम बढ्दो छ । बाठाटाठाहरुले त सेयरमा लगानी गरेर कमाए र कमाइपनि रहेका छन् । तर, सोझासझा जनता भने नराम्ररी फसेका छन् । उनीहरुले सेयरमा गरेको लगानी बालुवामा पानीसरह भएको छ । पहिलापहिला बुढापाकाले भन्थे–जाँडरक्सी खान्नुहुन्न, जुवातास खेल्नुहुन्न । यसले धनसम्पत्ति सबै सिध्याउँछ ।
अहिले प्रायजसो मानिसले जाँडरक्सी खान छोडिसकेका छन् । उनीहरु जुवातास पनि खेल्दैनन् । तैपनि उनीहरुको धनसम्पत्ति सिद्धिरहेको छ। कारण एउटै छ, त्यो हो–सेयर । सेयर जुवासरह बनेको छ । यसको लत मानिसको बसिसकेको छ । सेयरमा लगानी गरेकै कारण लाखौं–करोडौं–अर्बौको सम्पत्ति मानिसहरुले गुमाएका छन् वा गुमाइरहेका छन् ।
सेयरमात्र घरजग्गा, गाडी र सुनमा पनि यस्तै भयो । भूमाफियाहरुले रोपनीको पाँच–दश हजार नपर्ने खेतीयोग्य जमिन टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि १४ करोडसम्ममा बेचे । एक रोपनीमा १६ आना हुन्छ । सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, तालतलैया, पोखरी, ढुंगेधारा, कुँवा, आल, टुकुचा, राजकुलो, खोलानाला, मठमन्दिर, राजपरिवारलगायतको जग्गासमेत व्यक्तिका नाममा लगियो ।
वि.सं.२०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ रहेको सुन दलालीहरुले एकाएक मूल्य बढाएर केही महिनाअघि पौने चार लाखमा बेचे । चाँदी पनि प्रतितोला दश हजारमा बेचियो । छिमेक भारत र चीनमा एक लाखदेखि पाँच लाखमा पाइने सवारीसाधन अटो शोरुमहरुले अढाई लाखदेखि २४ करोडसम्ममा बेचे । सर्वसाधारण जनताले आफूसँग भएको निक्षेप बैंक, वित्तिय संस्थामा जम्मा गरे । ब्याजको लोभमा परेर निक्षेप राखियो ।
बैंकले निक्षेपको १२ प्रतिशतसम्म ब्याज दिन्थ्यो । वित्तिय संस्था (सहकारी, लघुवित्त, फाइनान्स) ले त २२ प्रतिशतसम्म ब्याज दिन्थे । यतिमात्र होइन बचतकर्ताको जन्मदिनमा घरमै केक बोकर आइपुगे सहकारी कर्मचारीहरु ।
वृद्धवृद्धालाई तीर्थ यात्रामा लगिन्थ्यो । दोसल्ला र लौरो दिएर सम्मान गरिन्थ्यो । बिरामी हुँदा फलफूल बोकेर घरमा पुगिन्थ्यो । हरेक वर्ष भव्य साधारणसभा गरिन्थ्यो अनि बचतकर्ता र सेयरधनीलाई रकम तथा बोनस दिइन्थ्यो । सहकारी कर्मचारीहरु एकदमै मिठो बोल्थे । पाँच मिनेटमै उनीहरु बचत राख्न फकाउँथे । निक्षेप उठाउन कोट, पाइन्ट लगाएर स्कुटरमा आउँथे, कर्मचारीहरु ।
सहकारी पुग्दा बचतकर्ता वा ऋणीलाई भिआईपीसरहको व्यवहार गरिन्थ्यो । चिसो–तातोदेखि अमिलो, पिरो वा गुलियोसम्म खुवाइन्थ्यो । यतिमात्र व्यवहारपछि कोही बचत राख्न तयार हुन्थे त कोही ऋण लिन । अनि ऋण लिएपछि धेरैले सहकारीको असली रुप देखे । दुई करोडको धितोलाई ७० लाखदेखि डेढ करोडसम्म कर्जा दिन्थ्यो । तर, त्यसबापत सहकारी अध्यक्ष, सञ्चालक र कर्मचारीलाई दशदेखि २० हजारसम्म घुस खुवाउनुपथ्र्यो ।
यस्तै, ऋण दिने बेला १२ प्रतिशत भनिएको ब्याज असुल्दा चाँहि ८० प्रतिशत हुन्थ्यो । तीन प्रतिशत सेवाशुल्क, धितोको बीमा तथा वर्षेनी नवीकरण, किस्ता रकम बचत खातामा जम्मा गरिदिई हर्जाना र पेनाल्टी हान्ने अनि तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिहाल्ने सहकारीले गर्दै आएको थियो । विश्वास गरेर मानिसहरुले सहकारीबाट ऋण लिएका थिए । तर, उनीहरु करोडपतिबाट सडकछाप बन्न पुगे ।
ऋणीमात्र होइन, बचतकर्ता पनि पीडित बने । सहकारीले जथाभावी कर्जा प्रवाह गर्दा बचतकर्ताको खर्बौ रकम डुबेको छ । सहकारीका पदाधिकारी र कर्मचारी त भागिहाले, ती बचतकर्ताको चाँहि बिचल्ली भएको छ । सहकारीमात्र होइन, लघुवित्त र फाइनान्स पनि डुबे । बैंकमा पनि संकट देखिसक्यो । बैंकका बचतकर्ताको खाताबाटै रकम गायब भएको वा कर्मचारीहरुकै मिलेमतोमा चोरिएको घटना बढ्दो छ ।
बैंकप्रति पनि जनविश्वास घट्न थालिसक्यो । अर्कोतर्फ, बैंक, वित्तिय संस्थाबाट ऋण खाएकाहरुले हात उठाइसके । सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख र बैंकबाट २२ लाखले कर्जा लिएका छन् । धितोको मूल्य घटेसँगै उनीहरुले ऋण तिर्न सक्दैनौं भनेर हात उठाएका छन् ।
ऋणीले कर्जा नतिरेपछि बैंक, वित्तिय संस्थाले गर्ने भनेकै धितो लिलाम हो । तर, धितोको मूल्य स्वाट्टै घटेको छ । तीन करोडको धितो एक–डेढ करोडमा झरेको अवस्था छ । तैपनि बिक्री हुँदैन । अनि बैंक, वित्तिय संस्थाले कसरी उठाउने कर्जा ।
बजारमा व्यापक चर्चा छ कि सहकारी, लघुवित्त र फाइनान्सजसरी बैंक पनि केही समयमै डुब्नेछ । हुन पनि त हो बैंक संकट विकराल बन्दै गएको छ । चिन्ताको विषय चाँहि वित्तिय संस्था डुबेको पाँच वर्ष भइसक्दासमेत निक्षेपकर्ताले बचत फिर्ता नपाएको अवस्थामा बैंक डुबेमा के होला ? बैंकका बचतकर्ताको रकम फिर्ता होला ?
बैंक, वित्तिय संस्था जिम्मेवार भएनन् । घुस पाइने भएपछि र छिट्टै नाफा कमाउन सञ्चालक, अध्यक्ष, कर्मचारीको मिलीभगतमा आँखा चिम्लेर घरजग्गा, गाडी, सेयरमा लगानी गरियो । आज उनीहरु टाट पल्टिएका छन् । सरकार पनि आफ्नो दायित्वबाट पन्छियो । बैंक, वित्तिय संस्था सञ्चालनका निम्ति लाइसेन्स बाँडेको सरकारले नियमनमा भने ध्यान दिएन । उल्टै विलासित वस्तुहरु (घरजग्गा, गाडी, सेयर) मा लगानी गर्न बाटो सहज बनाइलियो ।
सरकारको लापरबाही अनि सञ्चालक, अध्यक्ष, कर्मचारीहरु व्यक्तिगत लाभमा लाग्दा आज करोडौं बचतकर्ता डुब्न पुगेका छन् । उनीहरुको रुवाबासी चलेको छ । मुलुकको अर्थतन्त्रमा समेत संकट परेको छ । अब राज्य के गर्छ ?
