देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो।

देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् ।

त्यस्तै, काठमाडौं जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पुर्जी जारी भएको रिटमा उल्लेख गरेका छन् । देउवाले अनुसन्धानमा सहयोग गर्न मन्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।

देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए । उनी त्यहाँबाट काठमाडौं फर्किएका छैनन् । उनी विरुद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो । तर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन ।