काठमाडौं परिसरको कमाण्डका लागि पाँच एसएसपीको तीव्र दौडधूप,कसले मार्ला बाजी ?
काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला मध्य दुइ परिसर प्रमुख परिवर्तनको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरसँगै उपत्यका ट्राफिकसहित केही तालिम केन्द्रमा एसएसपी सरुवाका लागि गृहकार्य भइरहेको छ। काठमाडौं र ललितपुर परिसरका प्रमुख एसएसपी रमेश थापा र होविन्द्र बोगटीको कार्यकाल ९ महिना पूरा भए पनि एक बर्ष बस्न पाउने व्यवस्था रहेको छ।
गत बर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलगत्तै असोज पहिलो साता नै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख परिवर्तन भएका थिए। काठमाडौंमा थापा र ललितपुरमा बोगटीले कमाण्ड समालेका थिए भने जेनजी बिध्वंशमा भदौ २४ गते फरार भएका कैदीहरुलाई नियन्त्रणमा लिने दायित्व पाएका थियो। तर अझै जघन्यदेखि बिभिन्न अपराधमा संलग्न ४ हजार कैदी फरार नै छन्। उनीहरुलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिनसकेको छैन।
यसैबीच, काठमाडौं र ललितपुर परिसरको प्रमुख तत्कालै परिवर्तन गर्ने पक्षमा गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार टोली रहेको बुझिएको छ। तर आईजीपी दानबहादुर कार्की भने एक बर्ष कार्यकाल काम गर्न दिनुपर्ने पक्षमा रहेको बताइन्छ।
सुलभ अग्रवाललाई हिरासतभित्रै ल्यापटप दिएको बिषयले छानबिन समिति नै गठन भएपछि ललितपुरका बोगटी भने परिवर्तन हुने निश्चित रहेको स्रोत दाबी छ। अग्रवालको ल्यापटप सीआईबीले लगेको छ भने छानबिन काठमाडौं परिसरले गर्ने जिम्मा पाएको छ।
एसएसपीहरुको सरुवा हुने चर्चासँगै जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा आउन चाहानेले शक्ति केन्द्र धाउने दौडधूप चलाइरहेका छन्। काठमाडौंको प्रमुख(एसएसपी)का लागि सुरेश काफ्ले,अजय केसी, दयानिधि ज्ञवाली,शिवकुमार श्रेष्ठ, दिलीप घिमिरेले शक्तिकेन्द्रमा सक्ने जति लबिईङ गरिरहेका छन्। ललितपुर परिसर र तालिम केन्द्रहरुमा पनि यीमध्येबाटै एकजना सरुवा हुने छन्।
काठमाडौं र ललितपुरको एसएसपी सरुवामा प्रधानमन्त्रीको सल्लाहकार टीमको सूची अनुसार गर्नुपर्ने हुन्छ। आईजीपी दानबहादुर कार्की गीत संगीतदेखि समितिका बैठकमा ब्यस्त रहिरहेका बेला सीआईबीका प्रमुख एआईजी डा.मनोजकुमार केसी सक्रिय भएर शिवकुमार श्रेष्ठलाई काठमाडौं परिसरको प्रमुख बनाउने दाउमा लागेको बताइन्छ। श्रेष्ठलाई काठमाडौं परिसरमा ल्याएमा भूटानी केस ब्यूँताउन सकिने, कांग्रेस–एमालेका नेताहरुलाई ड्यामेज गर्न सकिने योजनामा बालेन्द्रदेखि सुधन गुरुङसम्मलाई उनले कन्भिन्स गरेको स्रोतको दाबी छ। उस्तै परे आईजीपी कार्कीलाइ समेत हटाउने र केसी आफै आईजीपी बन्ने रणनीतिका साथ अगाडि बढेकाे बुझिएकाे छ।
त्यस्तै जेनजी बिध्वंशमा जेलमा आगजनी र तोडफोड गरी भागेका साढे १४ हजार कैदीबन्दीमध्ये अझै चार हजार कैदीबन्दी फरार रहेको आईजीपी दानबहादुर कार्कीले सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा जानकारी दिएका थिए। ४ हजार फरार कैदीबन्दी बाहिरै रहेकाले उनीहरुले फेरि कुनै गम्भीर अपराध गर्नसक्ने संत्रास समाजमा ब्याप्त छ। फरार खुँखार अपराधीका कारण काठमाडौंमा ठूला घटना भए के गर्ने भन्ने प्रश्न जस्ताको त्यस्तै रहेको छ।
फरार कैदीबन्दीमध्ये कतिपय जघन्य अपराध गर्नेहरु पनि छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को काम जघन्य अपराधीहरु पक्राउ र अनुसन्धान गर्ने भए पनि आर्थिक मुद्दा बोलपत्र (ठेक्का) ह्याकिङ, बैंकिङ र सेयरजस्ता मुद्दामा मात्र केन्द्रित रहेको छ। आर्थिक बिषयसँग सम्बन्धित बिषयमा सीआईबीले दर्जनलाई पक्राउ गरे पनि उसले पेश गरेका मुद्दामा अदालतले कुनै पनि आरोपीलाई पुर्पक्षका लागि समेत पठाएको छैन।
फेक रेस्क्यु, बैंकका सीईओ, ठेकेदारको प्रकरणमा थुप्रै ब्यक्तिलाई सीआईबीले पक्राउ गरी अनुसन्धान गरी मुद्दा बुझायो । तर अहिलेसम्म ठेक्का ह्याकिङमा सरकारी कर्मचारी (सब–ओभरसियर) दिवाकर देउजाबाहेक सबै छुटेका छन्। कोही पनि अहिलेसम्म पुर्पक्षमा गएका छैनन्।
