काँग्रेसले अब नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्छ: दिलेन्द्रप्रसाद बडू

काठमाडौं। नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीमा एकता र रूपान्तरणका लागि १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन्। शुक्रवार विज्ञप्ति जारी गर्दै बडूले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग वर्तमान अवस्थामा पार्टीलाई थप बलियो, जिम्मेवार र एकताबद्ध बनाउनुपर्ने बताएका छन्।

बडूले १४औँ महाधिवेशनको चार वर्षे कार्यकाल सकिएपछि २०८२ मङ्सिर भित्र १५औँ नियमित महाधिवेशन हुनुपर्ने भए पनि तत्कालीन नेतृत्वको असहमतिबिच विशेष महाधिवेशन गरिएको बताएका छन्। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा परेको बडूले विज्ञप्तिमा उल्लेख गरेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आफू लगायत अन्य नेताहरूले रुख चिन्ह र चार तारे झन्डा सहित सक्रिय सहभागिता जनाएको उनको भनाइ छ। यद्यपि, सङ्गठन भित्रका केही कमजोरी र मतदाताको परिवर्तनको चाहना अनुरूप निर्वाचन परिणाम नआएको तितो सत्यलाई स्वीकार गर्दै सभापतिले नैतिक जिम्मेवारी स्वीकार गरिसकेको उनको भनाइ छ ।

बडूले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका विषयमा गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले निर्वाचनको कारण वा विशेष महाधिवेशन हुँदा नहुँदाको अवस्थाको काल्पनिक व्याख्यामा अलमलिएर समय खेर नफाल्न आग्रह गर्दै लोकतान्त्रिक उपलब्धिलाई बचाउन र नयाँ पुस्तालाई लोकतन्त्रको मार्गमा हिँडाउन कांग्रेस थप बलियो, जिम्मेवार र एकताबद्ध हुनुपर्ने बताएका छन् ।