एनपीएलको दोस्रो संस्करणको आम्दानी ४७ करोड ३६ लाख
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
सोमबार बसेको क्यानको केन्द्रीय समिति बैठकले एनपीएलको दोस्रो सिजनबाट ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ ०५ पैसा खुद मुनाफा भएको विवरण सार्वजनिक गरेको हो ।
एनपीएल गभर्निङ काउन्सिलले पहिलो संस्करणमा क्यानसमक्ष २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ प्रस्तुत गरेको थियो । क्यानले पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा ६ करोड ७४ लाख ७१ हजार १४६ रुपैयाँ बढी खुद मुनाफा कमाएको हो ।
क्यानले एनपीएलको दोस्रो सिजनबाट ४७ करोड ३६ लाख ५५९ रुपैयाँ ०६ पैसा आम्दानी गरेको छ । प्रतियोगिता सञ्चालन गर्दा २१ करोड ९६ लाख ५ हजार १२३ रुपैयाँ ९१ पैसा खर्च भएको छ ।
यस आधारमा राजस्व बाँडफाँडअघि कुल आम्दानी २५ करोड ३९ लाख ९५ हजार ४३५ रुपैयाँ १५ पैसा रहेको छ । सो रकममध्ये ८ फ्रेन्चाइज टोलीलाई ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ १० पैसा वितरण गरिने क्यानले जनाएको छ ।
क्यानले पहिलो सिजनबाट २७ करोड ६९ लाख ६४ हजार ८ सय १८ रुपैयाँ आम्दानी गरेको थियो । त्यसक्रममा प्रतियोगिता आयोजना गर्न २० करोड १५ लाख ७३ हजार ५ सय ५९ रुपैयाँ खर्च गरेको थियो । यसपल्ट भने १ करोड ८० लाख ३१ हजार ५६४ रुपैयाँ ९१ पैसा बढी क्यानले खर्च गरेको छ ।
