वकिलले सिंहदरवार प्रवेश गर्दा गेट पास लिनुपर्ने,सुवास नेम्वाङले दिलाएको अधिकार बालेनको पालामा कटौती
काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्दा कानुन व्यवसायीहरूले गेट पास लिनुपर्ने व्यवस्था गरेको छ। कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउने व्यवस्थालाई रोक लगाउँदै रास्वपाका बालेन शाह नेतृत्वको सरकारले नयाँ गेट पास लिनुपर्ने व्यवस्था सुरू गरेको हो।
नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको र सहजीकरणको प्रयास भइरहेको जानकारी दिए। सिंहदरबारभित्र प्रशासकीय अदालत छ। जहाँ कानुन व्यवसायीहरू वकालत गर्न पुग्ने गर्छन्।
अदालतका रजिस्ट्रार सरोजराज रेग्मीले सूचना जारी गर्दै कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेट पास लिनुपर्ने व्यवस्था भएको जानकारी दिएका छन्। अन्य मन्त्रालयमा काम भए सम्बन्धित निकायमै समन्वय गर्न भनिएको छ।
बहुदल व्यवस्था आएपछि स्वर्गीय एमाले नेता सुवासचन्द्र नेम्वाङले कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न मिल्ने व्यवस्था सुरू गरेका थिए। त्यसबेला नेम्वाङ बारका पूर्वमहासचिव समेत थिए।
त्यसमा अहिलेको सरकारले रोक लगाएको हो। यसरी रोकेपछि बारले कानुन मन्त्री, कानुन सचिव, गृहसचिव, महान्यायाधिवक्ता लगायतको ध्यानाकर्षण गराएको कोइरालाले बताए।
