हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा सिए नारायण बजाज नियुक्त भएका छन्। चैत २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले बजाजलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

सोही बैठकले संस्थापक समूहअन्तर्गत रिक्त रहेको सञ्चालक पदमा पनि बजाजलाई नियुक्त गरेको जनाएको छ। उनी कम्पनीका संस्थापक सेयरधनी लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधित्व गर्दै आएका छन्।

यसअघि अध्यक्ष पद सम्हालिरहेका सुलभ अग्रवालले पदबाट राजीनामा दिएका थिए। उनीमाथि व्यवसायी दीपक भट्टसँग सम्बन्धित कारोबारमा संलग्न रहेको आरोप लागेपछि अनुसन्धान अघि बढाइएको थियो।

नयाँ नेतृत्व आएसँगै कम्पनीको व्यवस्थापन र नीतिगत निर्णय प्रक्रियामा स्थायित्व आउने अपेक्षा गरिएको छ।