सरकार उम्लिएको दूध हो‚यो पोखिन्छ: अध्यक्ष ओली
काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यकालले देशमा लोकतन्त्र र वामपन्थी आन्दोलनलाई गम्भीर धक्का पुर्याएको आरोप लगाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैली लोकतन्त्र विरोधी र फासीवादी राज्यतर्फ उन्मुख रहेको दाबी गरे।
अध्यक्ष ओलीले सरकारले सुकुमवासी बस्तीमा डोजर लगाएर सर्वसाधारणलाई सास्ती दिएको र बालबालिकाको बिचल्ली बनाएको भन्दै आलोचना गरे। सरकारको अहंकार र कार्यशैलीप्रति व्यङ्ग्य गर्दै ओलीले सरकारलाई ‘उम्लिएको दूध’ सँग तुलना गरे।
ओलीले मन्त्रीहरूमा उत्तरदायित्वको अभाव रहेको उल्लेख गरे। सरकारले बजेटमा केवल सतही कुरा मात्र गरेको र व्यवहारमा केही नदेखाएको ओलीले टिप्पणी गरे।
दैलेखको ग्याँस उद्योगको व्यावसायिक उत्खनन र प्रशोधन प्रक्रिया अगाडि नबढाउँदा मुलुकले दैनिक अर्बौँको आम्दानी गुमाइरहेको भन्दै उनले सरकार अकर्मण्य भएको दावी गरे।
ओलीले भने,अहिले मुलुकमा खुशी हुने कुनै ठाउँ छैन। अहिलेको सरकार दूध उम्लिएको अवस्था जस्तै छ। यो पोखिन्छ। यसका खुट्टा भुइँमा छैनन्। हामीले शिलान्यास गरेका काम उद्घाटन गर्न पनि यो सरकारलाई अप्ठ्यारो छ।
देशको वर्तमान अवस्था निराशाजनक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारमा कर्तव्यबोधको अभाव रहेको र यसले मुलुकलाई सही दिशामा लैजान नसक्ने तर्क गरे।
