एम्बुलेन्स दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
काठमाडौं। कालिकोटको खाँडाचक्र नगरपालिका(२ मेयर खोला नजिकै एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जुम्लाको हिमा गाउँपालिकादेखि सुर्खेत जाँदै गरेको हिमा गाउँपालिकाको क।प्र।०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालिकोटको मेयर खोला नजिकै बुधबार राति ८ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा हिमा गाउँपालिकाका एम्बुलेन्स चालक वर्ष २६ का शक्ति शाही र सोही पालिकाका वर्ष ३२ का भीमराज अधिकारीको मृत्यु भएको प्रहरी प्रमुख नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए। घाइते हुनेमा हिमा गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन्।
बिरामी लिएर सुर्खेत जाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ। एम्बुलेन्समा चालकसहित ४ जना सवार थिए। घाइते दुई जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार हुँदै छ।
