अब निष्ठावान् कार्यकर्ताको आवश्यकता छ: सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको संख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बताएका छन्।
बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले पार्टीभित्र शुद्धीकरण अभियान सञ्चालन गरिने र कम संख्यामा भए पनि जिम्मेवार कार्यकर्ताको बलमा संगठन सुदृढ बनाइने बताएका हुन्।
सभापति थापाले भने,अब संख्या वा क्रियाशील सदस्यको भीड होइन, निष्ठावान् कार्यकर्ताको आवश्यकता छ। पार्टीले सोहीअनुसार नीति बनाएर अगाडि बढ्छ।
उनले वैशाख १ गतेदेखि क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया सुरु गरिने जानकारी दिँदै त्यसपछि देशव्यापी रूपमा शुद्धीकरण अभियान अघि बढाइने उल्लेख गरे। समस्याको बेला पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए पनि संगठन थप चलायमान हुने सभापति थापाको भनाइ थियो।
उनले भने, ‘पार्टीलाई एकताबद्ध, अनुशासित र नीति–सिद्धान्तमा आधारित बनाउँदै देशभर नयाँ ऊर्जा सिर्जना गरिने छ। कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ।’
सभापति थापाले प्रतिनिधिसभा निर्वाचनको परिणामबारे समीक्षा आवश्यक रहेको उल्लेख गर्दै वर्तमान अवस्था कांग्रेसको इतिहासमै चुनौतीपूर्ण रहेको र यसबाट सिक्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले १५औँ महाधिवेशन सफल बनाउने जिम्मेवारी आफूले लिने पनि बताए।
