एमाले अध्यक्ष ओली हटाउन छुट्टै दस्तावेज
काठमाडौं। नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाईका लागि गरिएका आन्दोलनहरु प्रभावकारी नभएपछि अहिले पूर्वघोषित आन्दोलनको मोडालिटी फेरबदल गरेको छ। आन्दोलनको मोडालिटीमात्र फेरबदल भएको छैन, एमालेभित्र आन्तरिक विवाद पनि बढ्दै गएको छ ।
ओली अस्पतालमा उपचारको क्रममा रहेका कारण यतिबेला ओली इतर समूहले पार्टी पुर्नसंरचनाका लागि छुट्टै दस्तावेज बनाउन लागेका छन्। त्यसको नेतृत्व यतिबेला विष्णु पौडेलले गरिरहेका छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारी समूहले तत्कालै कुनै प्रतिक्रिया नजाउने तर छुट्टै दस्तावेज आए त्यसमा गुण र दोषको आधारमा छलफल गर्ने जनाइरहेको बेला पौडेलले आफ्ना केही सहकर्मीहरुसहित पार्टी पुर्नसंरचनाबारे दस्तावेज बनाइरहेको निकट एक नेताको दावी छ ।
ओली हिरासतमा रहेको बेला उपाध्यक्ष रामबहादुर थापा बादलले संसदमा दिएको अभिव्यक्तिलाई लिएर एमालेमा ठूलो हलचल आएको थियो । त्यही क्रममा बादलले पार्टीभित्रका प्रतिक्रियावादीहरु सल्बल्याउन थालेको भन्दै एमालेका नेताहरुलाई छुद्र बचन बोलेका थिए।
त्यसको प्रतिरक्षामा एमालेका नेताहरु लागिरहेका बेला पौडेल लगायतका नेताहरुले ओली हटाउनका लागि छुट्टै दस्तावेज तयार पारिरहेका छन्।
पछिल्लो पटक मुद्दा चलाउनुपर्ने आधार र प्रमाण फेला नपरेपछि सर्बोच्च अदालतको आदेश अनुसार जिल्ला अदालतबाट हाजिरी जमानीमा ओली रिहा भएपछि एमालेले आन्दोलनको मोडालिटी परिवर्तन गर्दैछ। उनी अहिले टिचिङ अस्पतालमा उपचाररत छन।
ओली रिहापछि एमालेले आन्दोलनको मोडालिटी पनि परिवर्तन गरेको हो। त्यसक्रममा शनिवारको पालिकास्तरीय बिरोध प्रदर्शनलाई एमालेले चुनावी समीक्षा बैठक, भेला र प्रशिक्षण कार्यक्रममा रुपान्तरण गर्यो।
अध्यक्षको रिहाईका लागि आन्दोलित एमालेको १७ चैतको बैठकले ३ वैशाखमा वडास्तरीय बिरोध प्रदर्शन र ७ वैशाखमा प्रदेशस्तरीय बिरोध प्रदर्शन र १२ वैशाखमा काठमाडौंमा वृहत्त बिरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो।
एमालेले विकसित घटनाक्रमको सवालमा सबै राजनीतिक दल र नागरिक समाजसँग सहकार्य गर्दै अघि बढ्ने नीति पनि लिएको छ । त्यसका लागि एमालेले उनीहरुसँग वृहत्त सम्बाद कार्यक्रम पनि आयोजना गर्दैछ। साथै यसअघिको आन्दोलनमा कार्यकर्ता र जनताहरुको साथ रहेको नदेखिएपछि एमालेले आन्दोलनको स्वरुपहरुलाई परिमार्जन गर्दै लगेको छ।
