आजदेखि चल्ने यात्रिकालीन बसको यस्तो छ रुट

काठमाडौं। काठमाडौंमा आजदेखि रात्रिकालीन बस सेवा सुरु हुँदैछ । साझा यातायाताले काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई थप व्यवस्थित र पहुँचयोग्य बनाउन आज साँझ ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा बस सञ्चालन गर्ने जनाएको छ । उत्तर-दक्षिण, पूर्व-पश्चिम रुटमा रात्रिकालीन बस सेवा सञ्चालन हुनेछ।

यो सेवाका लागि साझा यातायातले सात विद्युतीय बस प्रयोग गर्नेछ भने पूर्व-पश्चिम रुटमा चार वटा बसले एयरपोर्टदेखि सिनामङ्गल, तीनकुने, बानेश्वर, माइतीघर, सुन्धारा, त्रिपुरेश्वर, टेकु, कालीमाटी र कलङ्की हुँदै थानकोटसम्म सेवा दिनेछन् भने फर्कदा थानकोटबाट कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, एनएसी जमल, बानेश्वर हुँदै एयरपोर्टसम्म पुग्नेछन्।

त्यसैगरी, उत्तर-दक्षिण रुटमा ३ वटा बसले बुढानीलकण्ठदेखि वाँसवारी, महाराजगञ्ज, लाजिम्पाट, जमल, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल र कुमारीपाटी हुँदै लगनखेलसम्मको यात्रा तय गर्नेछन्।

यो सेवाको सुरुवातसँगै रातीको समयमा ट्याक्सी वा अन्य निजी सवारी साधनको महँगो भाडा तिर्नुपर्ने बाध्यताबाट सर्वसाधारणलाई राहत मिल्ने विश्वास लिइएको छ।

विशेषगरी इन्धन महंगीको मारमा परेका नागरिक, रात्रिकालीन काममा संलग्न कर्मचारी तथा एयरपोर्ट र कलङ्की जस्ता मुख्य नाकाबाट उपत्यका भित्रिने यात्रुहरुका लागि यो सेवा प्रभावकारी हुनेछ। यी रुटहरूले उपत्यकाका १० भन्दा बढी प्रमुख अस्पतालहरूलाई जोड्नुका साथै ठमेल, दरबारमार्ग र झम्सिखेल जस्ता केन्द्रहरूमा सहज पहुँच सुनिश्चित गर्नेछन्।

यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकता दिदै सम्पूर्ण बसहरूमा सीसीटीभी क्यामेरा जडान गरी साझा यातायातको केन्द्रीय कन्ट्रोल रूमबाट प्रत्यक्ष निगरानी गरिनेछ साथै सहकार्य गर्ने निकायहरू द्वारा नगर प्रहरीको उपस्थितिको पनि व्यवस्था गरिएको छ।

यात्रुहरूले साझा प्लस मोबाइल एप मार्फत यसको वास्तविक अवस्थितिको जानकारी लिई आफ्नो यात्रा समय र प्रतीक्षा गर्ने समयलाई व्यवस्थित गर्न सक्नेछन्।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालका अनुसार यसभित्र यात्रुको जानकारीका लागि प्यासेन्जर इन्फर्मेसन सिस्टम र निःशुल्क वाइफाइको व्यवस्था समेत गरिएको छ।