ट्रष्टको जग्गामा नगरपालिकाको रजाइँः बालेन सरकारले रोक्ला र कब्जा भएको जमिन खोज्ला ?
अनुसा थापा
२०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय भयो । त्यसपछि सरकारले राजपरिवारको जग्गा खोजबिन गरेर नेपाल ट्रष्टको कार्यालय मातहत लैजाने निर्णय गर्यो । त्यसका लागि छुट्टै कानुन र कार्यालय खडा गरिएको छ । राजा वीरेन्द्रको सम्पत्तिमध्ये कति ट्रष्टको नाममा आयो ? कति आउन बाँकी छ ? त्यो सम्पत्ति कसले भोगचलन गरिरहेको छ ? कहाँ छ ? आम नागरिकलाई जानकारी छैन ।
सरकारले पनि राजपरिवारको जमिन संरक्षणमा लापरवाही गरिरहेको छ । जसका कारण बाठाटाठाले ती जग्गा कब्जा गरिरहेका छन् । जसको उदाहरण भक्तपुरको सल्लाधारीस्थित तीनकुने चौर हो । राजा महेन्द्रले २०२४ सालमा १०८ रोपनी दुई आना एक दाम जग्गा नागरिकसँग प्रतिरोपनी एक हजार रुपैयाँमा खरिद गरे । त्यहाँको जग्गा धेरै कब्जा भइसकेको छ ।
जग्गा अतिक्रमण गरेर व्यक्तिको नाममा लगिएको छ । त्यहाँ ठूल्ठूला घर बनेको छ । राजनीतिक आडमा कब्जा भएर बाँकी भएको जमिनमा भक्तपुर नगरपालिकाले घेराबार लगाएको छ । त्यहाँ बढीमा ६० देखि ६५ रोपनी जग्गा छ । यो ठाउँको जग्गा ४० देखि ८० लाख रुपैयाँ आनाको बिक्री हुन्छ । राजमार्गसँग जोडिएकाले यहाँको जग्गा एकदमै मँहगो छ । राज्यको खर्बौंको सम्पत्तिमा व्यक्तिहरुको रजाइँ चलिरहेको छ ।
घेराबार लगाएको जग्गा नेपाल ट्रष्टको नाममा छ । तर, नगरपालिकाले त्यो जग्गा कब्जा गरिरहेको छ । कुनै कार्यक्रम गर्नुपरेमा नगरपालिकाबाट स्वीकृति लिनुपर्छ । त्यहाँ कार्यक्रम हुँदा ट्रष्टको ढुकुटीमा एक सुको पनि जाँदैन । नगरपालिकाले कर उठाएर चलाउँदै आएको छ । गत चैत २६ गतेदेखि चौरमा दशौं भक्तपुर उद्योगी कृषि मेला सञ्चालनमा छ । सो मेला आउँदो वैशाख ६ गतेसम्म सञ्चालन हुने भनिएको छ।
सो मेलामा प्रवेश गर्न एक सय रुपैयाँको टिकट काट्नुपर्छ । विद्यार्थी र ज्येष्ठ नागरिकको हकमा ५० रुपैयाँ टिकट शुल्क छ । मेलामा पाँच सय बढी स्टल छ । एउटा स्टलको भाडा १५ देखि २५ हजार रुपैयाँ रहेको छ । अहिले मात्र होइन, यहाँ सदाबहार कार्यक्रम भइरहन्छ । दशैंमा त्यहाँ खसी, बोका, च्यांग्रा र भेडा बेच्न राखिन्छ । व्यापारीले दैनिक नगरपालिकालाई स्टल राखेबापत ६० हजारदेखि लाख रुपैयाँसम्म भाडा तिर्छन् ।
हेभी गाडीको ट्रायल पनि त्यहीँ चौरमा हुन्छ । त्यहाँ मोटरसाइकल र स्कुटरको एक्स्पो भइरहेको हुन्छ । यता, ड्राइभिङ पनि चौरमै सिकाइन्छ । मोटरसाइकल सिकाएको घण्टाकै पाँच सय र कार सिकाएको हजार रुपैयाँ असुलिन्छ । त्यहाँ मकै, चिया, बदाम, चट्पटे, पानीपुरी, पानी बेच्ने यत्तिकै छन् । कराते पनि त्यहाँ सिकाउने गरिन्छ । महिनाको १० देखि १५ हजार रुपैयाँ लिएर कराते सिकाउने गरिएको छ ।
उनीहरुबाट नगरपालिकाको नाममा रकम असुलिँदै आएको छ । तर, त्यो पैसा कहाँ जान्छ ? नगरपालिकाको ढुकुटीमा जान्छ कि बीचमै कतै हिनामिना हुन्छ ? कसैलाई जानकारी छैन । सल्लाघारीमा यातायात कार्यालय छ । भाडाको घरका बसेको यातायात कार्यालयमा पार्किङ छैन । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले चौरमा सवारी पार्किङ गर्छन् । मोटरसाइकलको प्रतिघण्टा १५, कारको २५, बस र ट्रकको एक सय रुपैयाँ सेवाग्राहीबाट उठाइन्छ ।
स्थानीय सरकारले आफ्नो पालिकाभित्र भएको जग्गाको कर उठाउन पाउँछ । तर, ट्रष्टको जग्गा कब्जा गरेर भाडामा लगाउन पाइन्छ ? यो नगरपालिकाको दादागिरी होइन ? अर्को कार्यालयको जग्गामा घेराबार लगाएर नगरपालिकाले भाडामा लगाएर आम्दानी गरिरहेको छ । जबकि, त्यो आम्दानी ट्रष्टको ढुकुटीमा जानुपर्ने हो । ट्रष्टले एक जना कर्मचारी राखेर भाडा उठाउने हो भने कति फाइदा हुन्छ ? दैनिक लाखौंको आम्दानी गर्छ, ट्रष्टले ।
यहाँ त ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै भयो । जग्गा एउटाको कब्जा गरेर कमाउने अर्को । चौर भाडामा लगाएर उठाएको पैसा नगरपालिकाको ढुकुटीमा जानेमै सर्वसाधारणलाई आशंका छ । नेपाल मजदूर किसान पार्टीबाट नगरपालिकाका मेयर सुनिल प्रजापतिलगायतले भाडा हिनामिना गर्ने त्यहाँको स्थानीयको अनुमान छ । अब ट्रष्टले आफ्नो सम्पत्तिको संरक्षण आफैंले गर्नुपर्छ ।
जुन कामको जिम्मेवारी दिएको हो, त्यहीँ नै गर्न नसक्ने हो भने ट्रष्टको कार्यालय राख्नु र कर्मचारी पाल्नुको औचित्य के ? देशभर आफ्नो कति जमिन छ ? कति कब्जा भयो ? ट्रष्टले सबै खोजतलास गर्नुपर्छ । सल्लाघारीकै जग्गाबाट शुरु गर्दापनि हुन्छ । पुरातत्व विभागको कानुनले ढुंगेधारा, राजकुलो, इनार, कुवा मास्न नपाइने भनेको छ । तर, चौरकै सामुन्ने विकुलाल खिउँजुले तीनवटा ढुंगेधारा र राजकुलो पुरेर ठूलो घर बनाएका छन् ।
त्यो घरमा फलफूलदेखि किराना, चिया, ब्यूटी पार्लर सञ्चालनमा छ । खोइ कहाँ छ पुरातत्व विभाग ? एउटा व्यक्तिले राजनीतिक आडमा सरकारी सम्पत्ति मास्दा पुरातत्व विभाग के हेरेर बसेको ? उनी नेमकिपाका कार्यकर्ता हुन् । जसका कारण उनले सम्पूर्णताको प्रमाणपत्र पनि लिइसकेका छन् । भक्तपुरमा २०२१ सालमा जग्गाको नापी भएको हो ।
भक्तपुर नगरपालिका वडा नम्बर १ आर्मी व्यारेकको दायाँबायाँ, चंगा गणेश, खरिपाटी जाने बाटोको दायाँबायाँ, दुवाकोटको टेम्पो पार्क र निकोसेरा, सिर्जनानगर, १५ तले भवन, भाटभटेनी, ड्राइभिङ सेन्टर, राजेश हाडवेयरको जग्गा ऐलानी र गुठीको हो । २०२९ सालसम्म यहाँ एउटा पनि छाप्रो थिएन । सबैतिर घारी नै घारी थियो । २०३२ सालमा नेमकिपाका एक कार्यकर्ताले त्यहाँ छाप्रो हाले ।
त्यतिबेला देशमा पञ्चायती व्यवस्था थियो । त्यही व्यक्तिले २०३५ सालमा ढुंगामाटो र कच्ची इँट्टामा टायल हालेर घर बनाए । त्यसपछि अन्यले पनि घर बनाउन थाले । तत्कालीन सरकारले त्यो घर भत्काइदिएको भए, अन्यले जग्गा कब्जा गर्ने आँट गर्दैनथें । त्यहाँ लाखौं रोपनी जग्गा नेमकिपाका कार्यकर्ताले कब्जा गरेका छन् । पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि त्यहाँको सरकारी जग्गा दर्ता गर्न थालिएको हो ।
२०४८ सालदेखि २०७९ मंसिर ४ गते भएको निर्वाचनसम्म नेमकिपाले नै सो क्षेत्रमा बाजी मार्दै आएको थियो । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले त्यहाँ जितेको हो । यहाँ ७६ जिल्लाका नागरिकले यो ठाउँमा जग्गा किनेर घर बनाएका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा पनि २०५१ र २०६४ मा मजदुरले चुनाव जितेको थियो । दुवै क्षेत्रको नागरिक सरकारी सम्पत्ति मिच्नेमा नेमकिपा बढी भएको बताउँछन् ।
बालेन्द्र साह नेतृत्वको सरकारले उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ । नेमकिपा ‘नपत्याउने खोलाले बगाउँछ’ भनेजस्तै हो । सरकारले एमाले, काँग्रेस, माओवादीले मात्र भ्रष्टाचार गरेको देखेको छ । तर, नेमकिपाले नपत्याउने गरी देश लुटेको छ । सरकारले नेमकिपाका नारायणमान बिजुक्छें, प्रेम सुवाल, सुनिल प्रजापतिको सम्पत्ति छानबिन गरोस् । दोषी देखिएमा उनीहरुलाई कारबाही गरियोस् ।
त्योसँगै बालेन सरकारले व्यक्तिको नाममा गएको सम्पूर्ण सरकारी सम्पत्ति खोजोस् । ट्रष्टको सम्पत्ति भाडामा लगाएर कमाउने नगरपालिकाको बाटो बन्द गरोस् । एउटाको सम्पत्तिमा अर्काले रजाइँ गर्न मिल्दैन ।
