प्रधानमन्त्रीज्यू, नेपालले भारतको भूमि मिचेको प्रमाण पेश गर्ने कि पदबाट राजीनामा दिने ?
अनुसा थापा
प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिले यतिबेला राष्ट्रिय राजनीति तरंगित छ । प्रधानमन्त्रीजस्तो जिम्मेवार र गरिमामय पदमा बसेका उनले आफ्नो ओहोदाको समेत ख्याल नगरिकन बोल्दा नेपालले ठूलो क्षति भोग्नुपर्ने देखिएको छ । जुन शुरु पनि भइसकेको छ । चैत १३ गते प्रधानमन्त्रीको शपथ खाएका प्रधानमन्त्री साहले एकदिन पनि सदनलाई सम्बोधन गरेनन् ।
सदनमा प्रधानमन्त्री आएर बोल्नुपर्ने माग उठ्दा पनि उनले सुनेनन् । जेठ १७ गते अर्थात प्रधानमन्त्री भएको ६५ औं दिनमा एकाएक आफैं सदन पुगे । सभामुख डोलप्रसाद अर्यालसँग उनले सांसदहरुको प्रश्नको जवाफ दिन समय मागे । आफै तयार नभईकन सदन पुगेका प्रधानमन्त्री साहलाई अर्यालले समय दिए । प्रतिनिधि सभा नियमावली मिचेर प्रधानमन्त्री साहलाई बोल्ने समय दिइएकोमा उनको अभिव्यक्तिले राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा खैलाबैला मच्चाएको छ ।
उनको पहिलो विवादास्पद अभिव्यक्ति हो–३५ वर्षसम्म हुन नसकेको काम ३५ मीनेटमा हुन्छ । उनी प्रधानमन्त्री भएको ३५ मीनेट होइन, दुई महिना नाघिसकेको छ । यो अवधिमा खासै स्मरणयोग्य काम छैन । अर्को अभिव्यक्ति नेपालले भारतको भूमि मिचेको विषयमा हो । सदनको रोष्टममा उभिएर प्रधानमन्त्रीजस्तो व्यक्तिले आफ्नो देशले छिमेकीको जमिन मिचेको बताएका छन् ।
छिमेकीले रातारात पिल्लर सारेर र नेपालको नक्सामै समावेश गरिएको भूमिको विषयमा चुइक्क नबोलेका प्रधानमन्त्री साहले सदनबाट भारतको वकालत गरेका छन् । त्यो अभिव्यक्तिपछि भारतीय प्रहरीले सुस्ता गाउँपालिकामा हुँदै गरेको पूर्वाधार निर्माणको काममा रोक लगाएको छ । आफ्नै भूमिमा काम हुँदै गरेकोमा भारतको प्रहरी प्रवेश गरेर जबरजस्ती रोक लगाएका हुन् ।
प्रधानमन्त्री साहले अब के गर्छन् ? भारतले त काम रोकिदिईसक्यो ? आजसम्म नेपालले अर्काको देशको जमिन मिचेको इतिहास छैन । प्रधानमन्त्री साहले के आधारमा बोले ? जनतालाई प्रमाणसहित प्रष्ट पार्नुभयो । कहाँ–कहाँ नेपालले भारतको भूमि मिचेको छ ? प्रमाण पेश गरियोस् । होइन भने जनतासँग माफी मागेर पदबाट राजीनामा दिनुपर्यो । कुरा भूमिको मात्र होइन, नेपाली जनताको मान, सम्मानको पनि हो ।
उनको अभिव्यक्ति अन्तर्राष्ट्रिय पत्रपत्रिकामा छ्याप्छ्याप्ती प्रकाशित भएको छ । यसले नेपालीलाई हेर्ने नजर नकारात्मक बनेको छ । नेपालले अर्काको भूमि मिच्दो रहेछ भन्ने छाप अन्य मुलुकहरुलाई परेको छ । नेपालीहरुको बेदाग छविमा दाग लागेको छ । प्रधानमन्त्री साहले आफूले बोलेको कुरा प्रमाणित गर्नुपर्छ । नेपाली जनताले तिरेको कर खाएर, नेपाली जनताको भोट लिएर प्रधानमन्त्री भएको व्यक्तिले नेपाल र नेपालीकै हितविपरीत अभिव्यक्ति दिएका छन् ।
देश र जनताको हितविपरीत जाने व्यक्ति प्रधानमन्त्री हुन सक्दैन । उनीसँग नैतिकता छ भने तत्काल पदबाट राजीनामा दिनुपर्छ । भक्तपुरजत्रा तीन जिल्ला कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भारतले अवैध रुपमा व्यापारिक मार्ग सञ्चालन गरिरहेको छ । सीमाका थुप्रै जिल्लामा साँध मिचिएको छ । साँध जोगाउने क्रममा नेपाली जनताले ज्यान गुमाएका छन्, टाउको फुटाएका छन् ।
यस्तो घटना देख्दादेख्दै पनि देशको प्रधानमन्त्रीले अर्काको जग्गा मिच्या छ भन्न मिल्छ ? सीमा क्षेत्रमा भारतको दादागिरी कति छ ? प्रधानमन्त्रीले एकपटक तिनलाई गएर सोधुन् । नेपालीहरु आफ्नै भूभागहरु डराईडराई बस्नुपर्ने बाध्यता छ । यस्तोमा आफ्नो भूभाग फिर्ता ल्याउँछु, संरक्षण गर्छु भन्नुको साटो अर्काको भूभागचाँहि आफ्नो देशले मिचेको छ भन्दिए ।
यस्तो पनि प्रधानमन्त्री ! देशको माया नभएको व्यक्ति के–को प्रधानमन्त्री ? राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष देशलाई हानी हुने काम गर्दिन भनेर शपथ खाएर देशलाई क्षति पुर्याउने काम गरिएको छ । उनको अभिव्यक्तिले भारतले मिचेको हाम्रो जमिन फिर्ता ल्याउने दाबी कमजोर भएको छ । राष्ट्रपति पौडेलले उनलाई कारबाही गर्नुपर्छ । आजसम्म नेपालले भारतको भूभाग मिचेको भनि कहीँ–कतै प्रकाशित भएको छैन ।
न इतिहासमै लेखिएको छ । जति मिच्यो, भारतले मिच्यो । त्यो जमिन अहिलेसम्म फिर्ता ल्याउन सकिएको छैन । यस्तोमा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु एकदमै लज्जास्पद छ । प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि भारत दंग छ भने नेपाल तरंग । प्रधानमन्त्रीको अभिव्यक्तिलगत्तै भारतले नेपालको भूमिमा समेत काम गर्न प्रतिबन्ध लगाइसकेको छ ।
जनताले झण्डै दुई तिहाई दिएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो पार्टी बनाए । बालेन प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेपछि जनता कहिल्यै खुशी बनेका छैनन् । बालेन सरकार गठन भएपछि सामानको भाउ ह्वात्तै बढेको छ । सरकारले कर्मचारीको तलब बढायो, मँहगी भत्ता यथावत् राख्यो । तर, जनताले केही पाएनन् । ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाको भत्ता बढेन ।
जनता सरकारबाट निराश हुँदा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको छ । जसका कारण जनताले बेकारमा रास्वपालाई भोट दिएछौं भनि थकथकी मान्न थालेका छन् । प्रधानमन्त्री साहले ३५ वर्षमा हुन नसकेको काम ३५ मीनेटमा गर्न सक्छौं भनेर बोले । प्रधानमन्त्री भएको ६५ दिन बित्दा ३५ मीनेटको कुरा उठाउनु जनतालाई मुर्ख बनाउन खोज्नु मात्रै हो । अर्को कुरा, काँग्रेस, एमाले, माओवादीले काम गरेको भए, आज रास्वपाको उदय नै हुँदैनथ्यो ।
ती पार्टीले काम गरेनन्, विदेशी ऋण ल्याएर देश खोक्रो बनाए, जनताका छोराछोरीलाई विदेश जान बाध्य बनायो, देशको भूभाग बेच्यो भनेर त जनताले रास्वपालाई भोट दिएका हुन् । पुराना दल त फागुन २१ गते सम्पन्न निर्वाचनबाट नाङगिसकेका छन् । अनि फेरि त्यहीँ कुरा सदनमा उठाउनुको पछाडि उनको नियत के हो ? रास्वपाले सरकार बाहिर हुँदा त ठूल्ठूला कुरा गर्थ्यों ।
अहिले के भो ? काम गर्न सकिएन ? गाह्रो भो ? जवाफ केही नपाएपछि बच्नका लागि ३५ वर्षको कुरा उठायो, जनता झुक्कायो । बालेन सरकार वा रास्वपाका नेत–कार्यकर्ताले ३५ वर्षको कुरा उठाउनुअघि आफू कुन जगमा उभिएर अहिले त्यहाँ आइपुगेका छौं ? भनि स्मरण गर्न आवश्यक छ । ३५ वर्षमा नेताहरुले काम गरेको भए, जनताले अर्को पार्टी खोज्न पर्दैनथ्यो ।
अहिले पनि काँग्रेस, एमाले, माओवादीकै सरकार बन्थ्यो । उनीहरुले काम गरेनन् भनेर नै जनताले रास्वपालाई दुई तिहाई नजिक पुर्याएका हुन्। यसलाई आफू जोगिने अस्त्र नबनाऊँ । बालेनको योजना के हो ? जनताले अब बुझ्नुपर्छ । हिजो जेनजी आन्दोलन गराउने उनी र रास्वपाका सभापति रवि लामिछाने हुन् भन्ने कुरा जनताले बुझ्दैछन् । आफू सरकारमा जानका लागि केही व्यक्तिले देश खरानी बनाए ।
ती व्यक्ति अहिले सरकारमा पुगे । सरकारमा गएर अहिले देश विरोधी नै अभिव्यक्ति दिए । प्रधानमन्त्री साहले यसलाई हलुका रुपमा लिएका होलान् । तर, यो सानो कुरा होइन । यो देशको भूभागको विषय हो । प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सडक संघर्ष शुरु भइसकेको छ।
अब प्रमाण पेश गर्ने कि राजीनामा दिने प्रधानमन्त्रीको कुरा हो । जथाभावी बोल्दा हिजो पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वालुवाटारबाट हेलिकप्टरमा भाग्नुपरेको थियो, त्यहीँ हालत प्रधानमन्त्री साहको नहोला भन्न सकिन्न ।
