विनोद भण्डारी र अर्जुन कुमाल राष्ट्रिय टोलीमा, दबाबमा अन्य खेलाडी
काठमाडौं । आईसीसी विश्वकप लिग-२ सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । यूएई र ओमनविरूद्धको सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो ।
टोलीमा केही नयाँ खेलाडीले मौका पाएका छन् । क्यानले प्रधानमन्त्री कपको प्रदर्शनलाई हेरेर टोली तयार गरेको छ । युवा ब्याटर अर्जुन कुमालले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् । उनले प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट ब्याटिङ गरेका थिए ।
यस्तै नेपाल प्रिमियर लिग र प्रधानमन्त्री कप लगायत घरेलु प्रतियोगितामा पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका ओपनर तथा विकेटकिपर विनोद भण्डारी पनि टोलीमा समेटिएका छन्।
भण्डारी तीन वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । अरू खेलाडी भने यसअघिकै नियमित टोलीका छन् ।
विनोद भण्डारी अर्जुन कुमाल टिममा पर्दा अरू खेलाडीलाई भने दबाबपरेको छ । निरन्तर राष्ट्रिय टोलीबाट खेलिरहेका तर, राम्रो प्रदर्शन नरेका खेलाडीहरूलाई भने दबाब परेको छ । यी दुवै खेलाडी सुरुवाती क्रमका ब्याटस्म्यान हुन्।
यी दुवै खेलाडी राम्रो लयमा रहेका खेलाडी हुन् । राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल र आसिफ शेखले लिग टु को खेलमा राम्रो प्रदर्शन नदेखाई रहेका समय अब यी दुई खेलाडी विकल्पको रूपमा हेरिएको छ ।
नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज खेल्दै छ । नेपाल, ओमान र यूएईबीच तथा नेपाल, अमेरिका र स्कटल्यान्डबीच छुट्टा छुट्टै सिरिज हुन लागेको हो । दुवै सिरिज नेपालमा हुनेछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वैशाख १२ देखि २२ गतेसम्म पहिलो सिरिज नेपाल, ओमान र यूएईबीच हुनेछ । वैशाख २९ देखि जेठ ८ गतेसम्म नेपाल, स्कटल्यान्ड र अमेरिकाको अर्को सिरिज हुनेछ ।
अमेरिका लिग(२ को अङ्क तालिकाको शीर्ष स्थानमा र स्कटल्यान्ड दोस्रो स्थानमा छ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालको २० खेलमा १२ अङ्क छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी।
रिजर्भ खेलाडी स् हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशन पाण्डे र देव खनाल।

