सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन मेडिकल काउन्सिलको निर्देशन

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन डाक्टरहरूलाई निर्देशन दिएको छ।

काउन्सिलले सूचना निकालेर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा डाक्टरहरूले उपचार विधि, औषधि प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न भनेको छ।

यस्ता सामग्रीका कारण बिरामीले आफैं औषधि प्रयोग गर्ने, गलत उपचार अपनाउने तथा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने भन्दै काउन्सिलले ध्यानाकर्षण गराएको हो।

काउन्सिलले डाक्टर तथा स्वास्थ्यकर्मीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्दै मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

स्वास्थ्यसम्बन्धी सूचना र परामर्श वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताअनुसार मात्र र चिकित्सकीय निर्णय सामाजिक सञ्जालको जानकारीका आधारमा नभई प्रत्यक्ष परीक्षण र प्रमाणित उपचार पद्धतिका आधारमा गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

मापदण्ड पालना नगरेमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने काउन्सिलले चेतावनी दिएको छ।