कांग्रेस महामन्त्री पौडेलको टिप्पणी-संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्न उब्जायो
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जाएको टिप्पणी गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको २४ घण्टा नबित्दै सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन गरेपछि नेता पौडेलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
उनले भनेका छन्, ‘यस घटनाले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्ने आशंका उब्जाएको छ।
सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर भन्दै उनले प्रश्न पनि गरेका छन्।
लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्व दिइनुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले प्रक्रिया छलेर परिणाम खोज्नु पद्दति र मर्यादा दुवैको अवमूल्यन भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘त्यसैले, जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसद्लाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न म सरकारसँग अनुरोध गर्दछु।
