रवि लामिछानेलाई सुकुम्वासी बस्तीमा छाती थाप्न आउन आग्रह

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ । सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन भइरहेको छ ।

उनीहरूले डोजर आतङ्क बन्द गर, सुकुम्वासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगाइरहेका छन् ।

सरकारमा जानुअघि रास्वपा सभापति रवि लामिछानेले सुकुम्वासी बस्तीमा डोजर चलाए आफू छाती थाप्न जाने अभिव्यक्ति दिएका थिए । तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि उनीहरूले आक्रमक बनेका छन् । उनीहरूले रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् ।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् ।

राष्ट्रिय जेनजी नागरिक अभियानले भूमिहीन दलित- सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको निर्णयविरुद्ध थापाथली बस्ती हुँदै माइतीघर मण्डलासम्म र्‍याली आयोजना गर्ने तयारी समेत गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुम्वासी बस्ती खाली गराउने निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठकमार्फत् सुकुम्वासी बस्ती खाली गराउने निर्णय गराएका थिए । उक्त बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुम्वासी बस्तीमा माइकिङ गरेको थियो । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाको थापाथलीसहित ४ वटा सुकुम्वासी बस्तीमा डोजर चलाउने जनाएको छ ।

सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैँ बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् । कतिपयले भने सरकारको निर्णय अवज्ञा गर्ने योजना अनुसार बस्ती खाली नगर्ने अडान राखेका छन्।