विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा प्रहरी
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन आगामी जेठ १८ गतेदेखि प्रारम्भ हुने अनुमान गरेको आगामी असोज १४ सम्म रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ।
मनसुनजन्य विपद्का कारण मुलुकमा बर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। विपद्को वार्षिक आँकडाका आधारमा सबैभन्दा बढी विपद्का घटना र क्षति तथा नोक्सानी मनसुनको चार महिनाको अवधिमा हुने गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसुनजन्य विपद्बाट मुलुकभर तीन हजार ७४ जनाको मृत्यु भएको छ। ती घटनामा परी पाँच सय दुई जना बेपत्ता, चार हजार ७६९ जना घाइते तथा ३३ हजार १९८ घरपरिवार प्रभावित भएका छन्।
गतवर्ष मात्रै बाढी, पहिरो, भारी वर्षा र चट्याङबाट एक सय ४० जनाको मृत्यु, ३० बेपत्ता, तीन सय घाइते तथा पाँच हजार ९९५ परिवार प्रभावित भएका थिए। जटिल भू–संरचना, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका कारण नेपाल बहुप्रकोपको उच्च जोखिममा छ।
मनसुनजन्य विपद्को जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।
