१५ दिनका लागि विद्यालय बन्द
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाका विद्यालय १५ दिनका लागि बन्द गरिएको छ। आइतबार (वैशाख २७)देखि लागु हुने गरी १५ दिनका अपिहिमालका सामुदायिक विद्यालय बन्द गरिएको हो।
यार्सागुम्बा संकलनका लागि अभिभावकसँगै विद्यार्थी लेकतिर हिँडेपछि विद्यालय १५ दिनका लागि बन्द गरिएको हो । यस क्षेत्रको प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा संकलनका लागि अभिभावक लेकतिर जाने गरेका छन्। उनीहरुसँगै विद्यार्थी गएपछि गाउँपालिकाले नै विद्यालय बन्द गर्नुपरेको हो।
शुक्रबार (वैशाख २५) गाउँपालिका शिक्षा शाखाले सूचना जारी गरेर आइतबार (वैशाख २७) बन्द भएका विद्यालय आगामी जेठ १० देखि पुनः सञ्चालनमा आउने जनाएको छ। अपिहिमाल गाउँपालिकाभर रहेका २२ सामुदायिक विद्यालयमा करिब ११ सय विद्यार्थी अध्ययनरत छन्।
