संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थाल्यो: मोहनविक्रम सिंह
काठमाडौं । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको टिप्पणी गरेका छन्।
काठमाडौंमा आयोजित संविधान संशोधन बहस कार्यक्रममा बोल्दै उनले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा पनि शासक वर्गको निहित स्वार्थ र सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित रहेको आरोप लगाएका हुन्।
महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले फासिस्ट स्वरूपलाई संस्थागत गर्न संशोधनको बाटो रोजेको दाबी गरे।
संविधान संशोधन नेपालको आन्तरिक विषय भए पनि यस प्रक्रियामा विदेशी शक्तिहरूको चलखेल देखिनु अवाञ्छित र गम्भीर रहेको उनको ठहर छ।
नेपालको आन्तरिक मामिलामा हुने वैदेशिक हस्तक्षेपले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठाएको सिंहले उल्लेख गरे । करिब एक शताब्दी लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिहरूलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।
उनले भने, ‘देशको राष्ट्रिय आवश्यकताअनुसार संविधानको निर्माण वा संशोधन हुनुपर्ने हो, तर कतिपय अवस्थामा शासक वर्गले आफ्ना स्वार्थ अनुकूल कानुन निर्माण गर्ने गर्छन्। अहिलेको सरकारले फासिस्ट रूप लिँदै गएको छ र त्यसैलाई पूर्णता दिन संविधान संशोधन गर्न थालिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ।
