सांसदहरुलाई रविले भने-योगदानको मूल्य माग्ने बेला भएको छैन,परिणाममुखी काम गर्नूस्

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन्।

पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पारे ।

लामिछानेले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताए। फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उनको भनाइ छ।

उनले भने, ‘हामीलाई चुनावमा जाँदा नै बहुमत आउँछ भन्ने थाहा थियो। यति सजिलो संघर्ष दुनियामा कहिल्यै कसैले गरेको छैन। हामी त्यति सजिलो संघर्षबाट आएका हौँ। तर यो संघर्ष यति सजिलो पार्नको लागि जुन संघर्ष यसअघिका राजनीतिज्ञहरुले गरे त्यो जग त हामीसँग छ नि राजनीतिको रुपमा। पार्टी, विचार र सिद्धान्तका रुपमा हामी अलग हौँला, तर मुलुकमा राजनीतिक परिवर्तनको हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईंहामीले अहिले पनि गर्नु परेन, भोलि पजि गर्नुपर्ने छैन।

अब पाँच वर्ष हामीले काम गर्नुपर्नेछ। मलाई अहिले पनि साथिहरुले कहिले काँही भन्नुहुन्छ– सभापतिज्यू म त शुरुवातदेखि लागेको, पार्टीमा योगदान छ भनेर योगदानको मूल्य माग्न ढोका ढकढक्याउनुहुन्छ। मलाई दुःख लाग्छ।

यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथिहरु। योगदान त अब दिने हो। अहिले हामी एतिहासिक क्रान्तीबाट आएका छौँ। यो क्रान्तीलाई पनि परिणाम दिन सकेनौँ भने तपाईं हामी नालायक भनेर निस्किन्छौँ।

उनले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई निर्देशन समेत दिए।