कम्युनिस्ट सिध्याउन पर्दाभित्र ठूला खेल भए,एकता नै आजको आवश्यकता:प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा सच्चा कम्युनिस्ट शक्तिहरूबीचको एकता अनिवार्य बनेको बताएका छन्। २६औं निर्मल लामा स्मृति सभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नुपर्नेमा जोड दिएका हुन्।
सम्बोधनका क्रममा प्रचण्डले विश्व कम्युनिस्ट आन्दोलनको इतिहास नै बहस,विवाद, विभाजन र एकताको शृङ्खलाबाट गुज्रिएको उल्लेख गरे।
अन्तर्राष्ट्रिय रूपमा पनि कम्युनिस्ट आन्दोलनमा ठुलठुला उतारचढाव आएका छन्,उनले भने,तर अहिलेको विशेष परिस्थितिमा नेपालका सच्चा कम्युनिस्टहरू एक हुनुको विकल्प छैन। यो आवश्यकता पहिलेभन्दा झन् बढेर गएको छ।
संयोजक प्रचण्डले देशमा बाह्य र साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। राष्ट्रियता र देशको सार्वभौमिकता अप्ठ्यारो अवस्थामा पुगेको टिप्पणी गर्दै उनले कम्युनिस्ट शक्तिहरूलाई कमजोर पार्न देशी-विदेशी शक्तिहरू लागिपरेको दाबी गरे।
गत निर्वाचनको प्रसंग निकाल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सिध्याउने रणनीति अन्तर्गत पर्दाभित्र धेरै खेलहरू भएको खुलासा गरे।
“निर्वाचनमा कम्युनिस्टहरूलाई सखाप पार्न पर्दाभित्र के-के खेल भएका थिए, ती सबै कुरा अझै सतहमा आइसकेका छैनन्,उनले भने,अनुसन्धान हुँदै जाला, तर ती षड्यन्त्रहरू निकै गहिरा थिए। उनले कम्युनिस्ट आन्दोलनलाई जोगाउन र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै छरिएका कम्युनिस्ट घटकहरू एक ठाउँमा उभिनु पर्ने आवश्यकता औंल्याए।
