एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण,कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसईई परीक्षामा ३.६० देखि ४।०० जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको छ । यो समूहमा ४८ हजार ३९२ विद्यार्थी रहेका छन्।

बोर्डका अनुसार यस वर्ष ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ भने २.८० देखि ३.२० जीपीए ल्याउने ९४ हजार २२२ विद्यार्थी छन् ।

यसैगरी, २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ९७७ रहेको छ । २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० विद्यार्थी रहेका छन् भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ रहेको बोर्डले जनाएको छ ।

एसईईमा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड (अवर्गीकृत) भएका छन् ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले यसपटक नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

यस वर्ष एसईई परीक्षाका लागि ५ लाख १२ हजार ४२१ विद्यार्थीले फाराम भरेका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थीले फाराम भरेका थिए।

फाराम भर्ने विद्यार्थीतर्फ २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।

यसरी हेर्न सकिन्छ नतिजा

बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ।

त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np,राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov. np र नेपाल टेलिकम www.see.net.np लगायतबाट नतिजा हर्न सकिन्छ।