नीति तथा कार्यक्रम कर्मकाण्डी शैलीको निरन्तरता: अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको टिप्पणी गरेका छन्।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकारले मुलुकलाई नयाँ दिशा दिने अपेक्षा कर्मकाण्डी परम्परामा जलप लगाएको जसरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको टिप्पणी गरे। सांसद केसीले सरकारले नीति तथा कार्यक्रममा ‘हुनेछ’ र ‘गरिनेछ’ भन्ने शब्दहरु पढ्दा पढ्दा आफूहरु थकित भइसकेको समेत बताए।

उनले भने, ‘झण्डै दुई तिहाई बहुमतबाट आएको सरकारले मुलुकलाई नयाँ दिशा निर्देश गर्छ कि भन्ने जुन आशा आम जनतामा थियो । हामीले पनि त्यस्तो केही आउँछ कि भनेर सोचेका थियौँ । तर मैले हेर्दाखेरी कर्मकाण्डी नीति तथा कार्यक्रममा कँही जलप लगाएर, रंगरोगन गरेर आएको जस्तो देखिन्छ।

त्यो कति प्रभावकारी हुनेछ भन्नेकुरा बजेटपछि मात्रै थाहा हुन्छ । हुनेछ र गरिनेछ भन्ने शब्दहरु पढ्दा पढ्दा हामी थकित भइसकेका छौँ । वाचा गर्ने कार्यान्वयन नगर्ने प्रवृत्तिले हामी पछि प¥यौं । त्यही परम्परालाई निरन्तरता दिने हो भने जनमत त स्थिर होइन नि।

प्रतिवद्धता दोहो¥याउने तर कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोरिए जनतामा चरम निराशा बढाउने उनको भनाइ छ।