अखिल नेपाल सुकुम्वासी सङ्घद्वारा बिहीबार चक्काजामको घोषणा

काठमाडौं। सुकुम्वासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध अखिल नेपाल सुकुम्वासी सङ्घ आन्दोलनमा उत्रिएको छ।

बुधवार सङ्घले काठमाडौंमा पत्रकार सम्मेलन गरी गुठी तथा बिर्तापीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीबास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको छ। सङ्घका अध्यक्ष अमर परियारले अदालतले सुकुम्वासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुम्वासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाएका छन्।

उनले सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको र त्यसका विरुद्ध सङ्घर्ष गर्ने बताए। सङ्घले दोस्रो चरणका आन्दोलनका कार्यक्रममा सार्वजनिक गरेको छ। यसअघि वैशाख ११ गते पहिलो चरणको आन्दोलनका कार्यक्रम जारी गरेको थियो।

सङ्घले वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने भएको छ। यो अवधिमा सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई पनि सङ्घले आग्रह गरेको छ।